तुलसीपुरको विद्युत् लाइन काटियो
Tuesday, April 26th, 2022, 7:30 pm
Kalpristha
दाङको तुलसीपुर उप–महानगरपालिकाको विद्युत् लाइन काटिएको छ । बुझाउनुपर्ने विद्युत्को बाँकी बक्यौता नबुझाएका कारण तुलसीपुरको विद्युत् काटिएको हो ।
मंगलबार बिहानैदेखि उप–महानगरको विद्युत् लाइन काटिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।
उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेले आफूहरू कार्यालय आउनुभन्दा पहिले नै विद्युत् काटिएको र बेलुका चार बजेसम्म पनि काटिएको विद्युत् लाइन जडान हुन नसकेको जानकारी दिए । तर, सूचना अधिकारी न्यौपानेले केही दिन पहिलेमात्रै प्राधिकरणका पदाधिकारीसँग विद्युत बक्यौता तिर्नेबारे छलफल भएको बताएका थिए ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालले चार महिनाको विद्युत महसुल झन्डै डेढ लाख बुझाउन पटक÷पटक ताकेता गर्दा पनि बेवास्ता गरेका कारण बाध्य भएर विद्युत लाइन काट्नु परेको जानकारी दिए ।
उपमहानगरपालिकाले सडक बत्ती बापतको ८० लाख र जरिवाना समेत गरी ९० लाख जति महसुल पनि नबुझाएको उनले जानकारी दिए ।
‘बिहान ११ बजेतिर प्रमुख प्रशासकीय अधिकृतले अन्याय भयो भनेर मलाई फोन गर्नु भएको थियो,’ फर्सालले भने, ‘उहाँलाई मैले भनिदिए हामीले पटक÷पटक आग्रह गर्दा अटेरी गर्ने तपाईंले पो अन्याय गर्नु भएको छ ।’
प्रशासकीय अधिकृतले तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई फोन गर्न आग्रह गरे पनि आफू नेपालगन्ज मिटिङमा रहेको कारण फोन गर्न नपाएको बताए ।
उप–महानगरपालिकाका सूचना अधिकारी न्यौपानेले भने सडक बत्तीको महसुल संघीय सरकार वा प्रदेश सरकारले हेर्ने भन्ने रहेकाले नबुझाइएको जानकारी दिए ।