लघुकथा – असल नेता
Saturday, April 30th, 2022, 4:46 pm
Kalpristha
म्यामराज राई
घाँटीमा जुत्ताको माला, गालाभरि कालो मोसो । मन्त्री बन्दासमेत गाउको विकासमा ध्यान नदिएको आरोपमा उ गाउ निकालामा पर्यो । उसले माला फ्याँक्यो । खोलामा मुख धोयो । लामो सास तान्दै ढुङ्गामा बस्यो ।
उसको पहिलो मनले सोच्यो, ‘गाउलेमाथि विश्वासघात गरें । माफी माग्छु । सक्ने जति वाचा दिन्छु र बोलेको पूरा गर्ने अठोट लिन्छु । अह, किन माफी माग्नु ? यत्रो नगर्नु बेइज्जत गरिसके । अरूले जे–जे गर्छन्, त्यहीमात्र त गरेको हूँ ।’ दोस्रो मन गाउलेप्रति चिढियो । ‘राजनीति यात्रा सिद्धिएको त हैन नि!चुनावी घोषणा पत्रानुसार काम नहुँदा जनता आक्रोशित हुनु स्वाभाविक हो । फेरि पार्टी अध्यक्ष तैं छस् । त्यति पचाउन पनि सक्दैनस् र ? ’
पहिलो मनले दोस्रो मनतिर सान्त्वना फिजायो । दोस्रो मनले स्वीकारोक्तिको टाउको हल्लायो । उ जुरुक्क उठ्यो।साँझपख सुटुक्क गाउ छिर्यो । प्रत्येक घरमा पुग्यो।चुनावी सभा राखेर गाउलेसित माफी माग्यो। गाउलेको मन पग्लियो ।
उसले भारी अन्तरमा पुनः चुनाव जित्यो । यो पाली पनि मन्त्रीमा उ चुनियो । उसले चुनावी घोषणा पत्रमा लेखिएअनुसार भटाभट काम शुरु गर्यो । घोषणा पत्रमा सीमित भएका अघिल्लो कार्यकालका विकासका कार्यक्रमहरू समेत उसले अगाडि बढायो । गाउलेले पाँच वर्षभित्रमा धेरैजसो निर्माण सम्पन्न हुने छाँट देखे । उसको जयजयकार गरे । दोस्रो तहका नेताहरूले पार्टी निर्माणको साटो विकासमा मात्रै पैसा खन्याएको आरोपमा पार्टी अध्यक्ष पदबाट उसलाई हटाए । जनताहरूले चाल पाए । स्वस्फूर्त रुपले गाउमा गाउलेहरू भेला भए । उसलाई सम्मान गरे । गाउलेहरूले एकै स्वरमा बोले,‘तपाई अध्यक्ष पदबाट हट्नु परेकोमा एक रत्ती नआत्तिनुहोस् । चुनावमा जिताउने हामीले हो । त्यही पार्टीमा रहनुहुन्छ, नयाँ खोल्नुहुन्छ या अर्कोमा जानुहुन्छ ? त्यो तपाईको विचार । हामीलाई पार्टी हैन, तपाई चाहिएको हो ।’
भोजपुर, हाल जापान