लघुकथा : दृष्टिकोण
Saturday, April 30th, 2022, 4:50 pm
Kalpristha
मिसु श्रेष्ठ
‘के हो बुढा,छोराले मन पराएर बिहे गरेको बुहारीको पारा ?‘ पत्नी कराइन् ।
‘के भो र ? हामीलाई राम्रै गरेकिछिन् त ! अफिस जान्छिन् । पकाई तुल्याई खुवाउँछिन् । बोलीबचन राम्रै छ । दया , विवेक भएकी छिन् । के कमि छ र हाम्री बुहारीमा?‘ पतिको प्रतिप्रश्न
‘बुहारी मान्छे भएर पाइन्ट लगाएर हिड्छे । न आइमाईको शोभाको सिंगार पटार छ । मोटरसाइकल चलाउँछे।‘ पत्नीको असन्तोष
‘के भो त ? झन् छिटो घर पुगेकी छे नि !‘ पतिको स्पष्टोक्ति ।
‘अनि, मोटरसाइकलमा लोग्नेमान्छेलाई राख्छे रे नि त !
फोटोहरु हेर्नु त धेरैजसो लोग्ने मान्छेहरुसँग हुन्छ ।‘
‘मैले यो विषयमा छोरासँग कुरा गरिसके – ञ उसको अफिसका साथी हुन्, कामनै त्यस्तो छ , के भो र ? भन्दै थियो । उसलाई भए हामीले किन टाउको दुखाउनु ? ‘पतिभित्रको असन्तुस्टी पनि छताछुल्ल भयो ।
‘हाम्री छोरी हेर्नुस त ! सधैँ साडी लागाउँछे । श्रृङ्गार – पटार गरेर बस्छे। कहिँ एक्लै हिड्दिन ।‘ पत्नीको सफाई ।
‘भैगो त उसको लोग्ने कमाउने । घरै बसेर खान पुगेको छ। उनीहरुलाई जे मन लाग्छ त्यहि लाउनदेऊ । अचेलका छोरी–बुहारी आफैँ बुझ्नेछन् ।‘ पतिको सान्त्वना ।
‘हेलो , आमा ! दिदीको घरबाट फोन आएको थियोे । ‘ छोराको फोन थियो ।
‘किन के भो र ?‘
‘भिनाजुले फोन गर्नु भएको – दिदी त्यहि पहिलाको केटासँग पोइल गई रे । नखोज्नु भनेकी छे रे ! दिए भने भान्जीलाई लिएर आऊ कि ? के गरुँ ? ‘बुहारी मोटरसाइकलमा एक कार्टुन आँप लिएर आउँदै थिइन् । आमा पाइन्ट र साडी बिचको भेद खोज्न थालिन् ।
काठमाडौं