अनावश्यक प्रतिवद्धता गरेका छैनौं : वैश्य
Wednesday, May 4th, 2022, 6:43 pm
Kalpristha
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालगन्ज नगरले बुधबार प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । वैशाख ३० गते हुने नेपालगन्ज उप–महानगरपालिकाको स्थानीय चुनावका लागि राप्रपाले २४ बुँदै प्रतिवद्धता व्यक्त गरेको हो ।
नेपालगन्जका लागि राप्रपाबाट मेयर पदका उमेदवार नन्दलाल वैश्य, उप–मेयर विन्दु चर्तीमगर, नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवल समशेर राणालगायतले संयुक्तरुपमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा वैश्यले यसअघि पनि राप्रपाले नेपालगन्जलाई आवश्यक परेका आफूले सक्नेमात्र प्रतिवद्धता व्यक्त गरेको र त्यसलाई पूर्णरुपमा पूरा गरेको बताए । उनले यसपटक पनि नेपालगन्जको आवश्यकतालाई मध्येनजर गर्दै आफूले सक्ने प्रतिवद्धता व्यक्त गरेको बताए ।
राप्रपाले सार्वजनिक गरेको प्रतिवद्धता छोटो भएता पनि समग्र नेपालगन्जको विकासमा केन्द्रित रहेको छ ।
प्रतिवद्धतामा उमेदवारले आफ्नो कार्यकालको तलब भत्ता सामाजिक कार्यमा खर्च गर्नेसमेत व्यक्त गरिएको छ । त्यस्तै नेपालगन्जलाई सरसफाई, हरियालीसहित महिला र बालबालिकामैत्री नगर निर्माण गर्ने बताइएको छ ।
….
नगरपालिकाभित्रका सबै बालबालिकालाई पूर्णरुपमा शिक्षाको पहुँचमा लैजाने, नगरलाई सद्भावको सहरका रुपमा विकास गर्ने, नेपालगन्जमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पहल गर्ने, शिक्षामा व्यवस्थापनीय सुधार गरी गुणस्तर बढाउने, नगरभित्रका सरकारी जग्गाको सरक्षण गर्ने, खुल्ला स्थानमा पार्क एवम् बाल उद्यानहरु निर्माण गर्ने रहेका छन् ।
त्यसैगरी नेपालगन्जलाई पर्यटकीय हवको रुपमा विकास गर्ने, स्थानीय सेवालाई प्रभावकारी बनाउने, शिपमूलक तालिम दिई स्वरोजगार सिर्जना गर्ने, नगर क्षेत्रमाा सौर्यबत्ती र हाईमास्टलाई विस्तार गर्ने, नगरका विभिन्न स्थानमा पार्किङ गर्ने, सडकको स्तरोन्नती गर्ने, नेपालगन्जलाई मेडिकल हबको रुपमा विकास गर्नेलगायतका कुराहरु प्रतिवद्धतामा व्यक्त गरिएको छ ।
कार्यक्रममा चर्तीमगरले प्रतिवद्धतामा बाहेक निर्वाचन जितेपछि नेपालगन्जका लागि आवश्यकता अनुसार अन्य योजना बनाई काम गर्दै जाने बताइन् ।
..