नेपालगन्जमा गठबन्धनको पाँच वर्षमा पाँच संकल्प
Wednesday, May 4th, 2022, 6:48 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकामा नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारको संकल्प पत्र सार्वजनिक गरिएको छ ।
नेपालगन्जमा बुधबार एक समारोहका बीच प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, नेकपा (एकिकृत समाजवादी)का केन्द्रीय सदस्य अशोक कोइराला, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कांग्रेसका लुम्बिनी प्रदेश सदस्य, जिल्ला, क्षेत्र, प्रदेश सभाका पदाधिकारी, नेकपा माओवादी केन्द्र नेपालगन्ज उप–महागरपालिकाका उपाध्यक्ष तारा खत्री, राष्ट्रिय जनमोर्चाका जगदिश ढकाल, नगर प्रमुख पदका उमेदवार प्रशान्त बिष्ट, उपप्रमुख पदका उमेदवार कमरुद्दीन राईलगायतले संयुक्त रुपमा संकल्प पत्र सार्वजनिक गरेका हुन् ।
‘पाँच वर्ष, पाँच संकल्प’ भन्ने मूल नाराका साथ उक्त संकल्प पत्रमा सद्भावको शहर, हरित नगर, रिंङरोड सहितको सडक सञ्जाल र पूर्वाधार, सेवा र सुशासन तथा सामाजिक न्यायसहितको रुपान्तरणलाई समावेश गरिएको छ ।
संकल्प पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, स्रोत तथा वित्तीय व्यवस्थापन, उद्यमशीलता र रोजगारी, सामाजिक सुरक्षा : कोखदेखि शोकसम्म, पर्यटन, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण, फोहरमैला व्यवस्थापन तथा सरसफाई, विपद व्यवस्थापन, सामाजिक न्याय र समावेशीता, भाषा, साहित्य, कला र संस्कृति, खेलकुद र सूचना तथा सञ्चारलाई समेटिएको छ ।
यस्तै नेपालगन्जलाई शैक्षिक हवका रुपमा विकास गर्न आवश्यक सहजीकरण गर्ने र सिकाई केन्द्र स्थापना गरी विषयगत शिक्षकहरुको त्रैमासिक भेला आयोजना गर्ने, आधारभूत स्वास्थ्य सेवा, आयुर्वेद र वैकल्पिक चिकित्सा, मानसिक स्वास्थ्य लगायत निरोधात्मक, प्रवद्र्धधनात्मक, उपचारात्मक र पुनस्र्थापनात्मक सेवालाई एकीकृत रुपमा सञ्चालन गर्न योजना बनाउने कुरालाई पनि जोड दिइएको छ ।
कृषि बीमामा साना किसानलाई ५० प्रतिशत र मझौला तथा ठूला किसानलाई ७५ प्रतिशत अनुदान दिनेमा जोड दिइएको छ । उप–महानगरपालिकामा वस्तुगत तथ्यको आधारमा करको आधार मूल्यांकन तथा निर्धारण गरिने कुरालाई प्रमुख रुपमा उल्लेख गरिएको छ । स्थानीय तहमा सञ्चालन हुने उद्योगहरुमा निश्चित प्रतिशत रोजगारी दिनुपर्ने कुरालाई व्यवस्थित गरी काम गरिने उल्लेख गरीएको छ ।
….
यसका साथै युवा यूवतीलाई निःशुल्क प्रजनन स्वास्थ्य शिक्षा दिने, सुत्केरी र नवजात शिशुको घर दैलोमा स्वास्थ्य सेवा प्रदान गरिने, सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक वडामा घुम्ती बैकिङ सेवा सञ्चालन गरी सामाजिक सुरक्षा रकम भुक्तानी गर्ने व्यवस्था मिलाउने कुरालाई प्राथमिकतामा राखिएको छ ।
संकल्प पत्रमा स्थापित तथा उदियमान गन्तब्यहरुको पहिचान, सहज र सुलभ पहँुचका लागि गुणस्तरीय पूर्वाधार विकास, विस्तार र स्तरोन्नती गर्ने कुरालाई पर्यटनको विषयमा उठान गरिएको छ, भने स्थानीय ज्ञान, जैविक विविधता, सीप, वातावरणीय सेवा प्रवाहको सम्भावना आदीको पहिचान गरी सूचीकृत गर्ने कुरालाई पनि प्राथमिकतामा राखिएको छ ।
स्थानीय भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्दे सांस्कृतिक संग्रहालयको स्थापना गरिने, खेलकुदको समग्र विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने, नेपालगन्ज उप–महानगरपालिकालाई सूचना तथा सञ्चारमैत्री बनाउने र सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षालाई मध्यनजर गर्दै कार्यविधि निर्माण गरेर सामाजिक सुरक्षाको दायरामा ल्याइनेलगायत महत्वपूर्ण विषयहरु संकल्प पत्रमा समावेश गरिएको छ ।
…
संकल्प पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले पाँच दलिय गठबन्धनका साझा उमेदवारका रुपमा अगाडि सारिएका प्रशान्त विष्ट र कमरुद्दीन राईलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताए । उनले पार्टीभित्र धेरै व्यवस्थापन गर्न समस्या भएका कारण नेपालगन्ज उप–महानगरपालिकाको वडा तहमा गठबन्धन हुन नसकेको बताए ।
गठबन्धनका तर्फबाट नगर प्रमुखका उमेदवार प्रशान्त विष्टले संकल्प पत्रमा उपमहानगर क्षेत्रको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत विविध विषयलाई समेटिएको बताएका छन् । चुनावमा गरेको संकल्पलाई निर्वाचित भएपछि पूरा कार्यान्वयन गरिने उनले प्रतिवद्धता व्यक्त गरे ।
सो क्रममा नगर उपप्रमुख पदका उमेदवार कमरुद्दीन राईले आफूहरु विरुद्ध विपक्षीले फैलाएको भ्रमलाई चिर्दै जनताको मन जित्ने बताए । उनले नगरको दीर्घकालीन विकासको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला, नेकपा माओबादी केन्द्रका नेपालगन्ज उप–महानगरपालिका उपाध्यक्ष ताराबहादुर खत्री, राष्ट्रिय जनमोर्चाका जगदिश ढकालले पाँच दलिय गठबन्धन केन्द्रबाटै निर्माण भएको र नेपालगन्ज उप–महानगरपालिकामा आफ्ना साझा उम्मेदवार प्रशान्त विष्ट र कमरुद्दीन राईलाई निर्वाचित गराउन प्रतिवद्ध रहेको बताएका छन् ।
नेपालगन्ज उप–महानगरपालिका निर्वाचन परिचालन समितिका संयोजक डा. सुरेशकुमार कनोडियाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संकल्प पत्र तयारी समितिका संयोजक हेमन्त कर्माचार्यले उमेदवारले निर्वाचित भएपछि गर्न सक्ने विषय वस्तुलाई मात्र समेटिएको बताएका छन् ।