प्रतिबद्धता कार्यन्वयनका लागि लिखित करारनामा
Wednesday, May 4th, 2022, 7:50 pm
Kalpristha
नागरिक र उमेदवारबीच सामाजिक करारनामा गर्न थालिएको छ । नागरिकप्रति जवाफदेही र चुनावमा व्यक्त गरिने प्रतिबद्धताको कार्यन्वयनका लागि करारनामा गर्न थालिएको हो ।
सुशासन र सूचनाको हकको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले स्थानीय निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरुको कारारनामासहितको प्रतिबद्धता गराई रहेको छ ।
बुधबार घरदैलोमा गरिरहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार नेपाली कांग्रेस संयुक्त गठनबन्धनका तर्फबाट प्रशान्त विष्ट र राप्रपाबाट उम्मेदवार नन्दलाल बैश्यले करारनामामा सहीछाप गरी हस्ताक्षर गरेका छन् ।
तपाई मतदाताको घरमा भोट माग्न आउने उमेदवारलाई यो करारनामामा हस्ताक्षर गराउन संस्थाका अध्यक्ष विश्वजित तिवारीले आग्रह गरेका छन् । उनका अनुसार निर्वाचन नागरिकलाई सार्वभौम र स्वतन्त्र बनाउने अभियान भएकाले यसले नागरिकलाई विवेकपूर्ण तरिकाले आफूले चाहेको विकास र परिवर्तनको काम गर्न सक्ने योग्य र ईमान्दार जनप्रतिनिधि चयन गर्ने र उनीहरूको वाचा र काम प्रति वस्तुनिष्ठ निगरानी राख्ने अवसर प्रदान गर्दछ । ‘त्यसैले स्थानीय तहको चुनावमा भोट माग्न आउने सबै उम्मेदवारहरूले गर्ने बाचाहरूलाई लिखितम् गरी राखांै,’ तिवारीले भने ।
यसै लिखतको आधारमा निर्वाचित जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्नु पर्ने उनले बताए ।
जनप्रतिनिधिलाई जबाफदेही र नागरिकलाई कर्तव्यनिष्ठ बनाई लोकतन्त्रलाई बलियो, नतिजामुखी र दिगो बनाउने काम गर्ने तिवारीले बताए । उनका अनुसार नागरिकका सवाल, समस्या, विकास, गुणस्तरिय सेवा, सुुशासन, पारदर्शिता र जवाफदेहिता, लगायत विभिन्न विषयवस्तु समेटिएको ८ बुदे करारनामा रहेको छ । संस्थाले यो करारनामा प्राय सबै पदका उमेदवारहरुको हस्ताक्षर गराउने छ ।