जनताको दुःख मेरो दुःख हो : तिलकवीर
Wednesday, May 4th, 2022, 8:03 pm
Kalpristha
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेका तर्फबाट तिलकवीर सुनार वडाध्यक्षका प्रत्यासी छन् । उनी यसअघि पनि ४ का निर्वाचित वडाध्यक्ष हुन् ।
फेरि चुनावी मैदानमा होमिँदै गर्दा उनी जनताको दुःख देख्न नसक्ने बताउँछन् ।
५ वर्षे कार्यकालमा वडामा उनले विकासमा फड्को नै मारेका छन् । खजुरा १ नम्बर वडादेखि ई गाउँसम्म सडक फराकिलो पार्दै कालोपत्रे, यसलाई निरन्तरता दिँदै, डि गाउँ स्कूलमा मिनी रंगशाला निर्माण, आधारभूत स्वास्थ्य सेवा केन्द्रको निर्माणपछि संचालन, खानेपानी ट्यांकी निर्माण, खेलकुदाका क्षेत्रमा कयौं कामहरु उनले गरेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार प्रदेश, केन्द्र सरकारको समन्वयमा किरण नाला र पेडारी नालामा पुल निर्माणलगायतका थुप्रै कामहरु भएका छन् ।
२ पटक कोभिडको समस्या हुँदा आफ्नो वडामा क्वारेनटाइन संचालन वडाबासीलाई संकटमा राहत वितरण जस्ता काम मात्र नभई भारतबाट आउने वडाबासीको व्यवस्थापनका लागि जमुनाह नाका पुगेर स्थानीयलाई गन्तव्यसम्म पु¥याएर व्यवस्थापन गरेको स्थानीयले अहिले पनि झलझल्ती सम्झेको बताउँछन् ।
युवा संघको जिल्ला संयोजक, केन्द्रीय सदस्यको जिम्मेवारी बहन गरिसकेको सुनार पार्टीको वडा नम्बर ४ को इन्चार्ज र जिल्ला कमिटी सदस्य छन् ।
वडा नम्बर ४ मा गठबन्धनका उम्मेदवार टेक बहादुर रोकाय, राप्रपाका उमेदवार ओपेन्द्र खत्री अध्यक्षका प्रत्यासी छन् । खजुरा ४ मा एमालेको पकड राम्रो भएको एमाले खजुरा कमिटिका उपाध्यक्ष झगबहादुर पौडेलले बताउँछन् ।
एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपति तिलकविर जस्तो सक्रिय युवाले खजुराको नाम चिनाएको उल्लेख गर्छन् ।
अहिले हरेक दिन विहानदेखि साझसम्म मतदाताको घरदैलोमा समर्थकहरु लिएर तिलकविर र वडा सदस्यका उमेदवारहरु पुगिरहेका छन् ।
‘जनताको अपार माया पाएको छु, त्यसैले निर्वाचनमा सफल हुने कुरामा ढुक्क छु,’ सुनारले
बताए ।
वडा नम्बर ४ बाट एमालेले अध्यक्ष तिलकवीर सुनार, सदस्य बलबहादुर बुढाक्षेत्री, बलबहादुर कठायत, महिला सदस्य रितु गिरी, दलित महिला सदस्य लिलादेवि सुनार उम्मेदवार छन् । उनीहरु चुनावी प्रचारका लागि घरदैलो गरिरहेका छन् ।