समृद्ध नेपालगन्ज बनाउने सपनामा विष्ट
Thursday, May 5th, 2022, 7:06 pm
Kalpristha
नेपाली कांग्रेस र जसपाको गठबन्धनबाट नेपालगन्ज उप–महानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राई बिहानैदेखि चुनावी घरदैलोमा निस्कने गरेका छन् ।
समृद्ध नेपालगन्ज बनाउने अभियानका साथ चुनावी मैदानमा उत्रिएका विष्ट र राईको जोडीलाई जिताउन मतदाताहरु पनि उत्साहित देखिएका छन् ।
कांग्रेस नेपालगन्ज उपहानगरपालिकाका सभापति समेत रहेका नगर प्रमुख पदका उम्मेदवार विष्ट बिहीबार बिहानै वडा नम्बर ५, ११, १२ र २२ मा घरदैलो गर्दै त्यहाँ आयोजित कोणसभालाई सम्बोधन गरिरहेका छन् । यस्तै उपप्रमुख पदका उम्मेदवार राई नेपालगन्ज उपमहानगरपालिका ४ घोसी जामा मस्जिद क्षेत्रको घरदैलोमा निस्केका छन् ।
उम्मेदवारहरु आफ्नो प्रतिबद्धतापत्रसहित घरदैलोमा गएका हुन् ।
नेपालगन्जको वडा नम्बर ४ घोसीटोलमा बिहीबार बिहान आयोजित घरदैलो कार्यक्रममा नेकपा माओबादी केन्द्रका नेता अहतर हुसेन फारुकीले संविधान रक्षा गर्नका लागि केन्द्रबाटै पाँच दलबीच गठबन्धन बनेको र संविधान विरोधी शक्तिलाई पराजित गर्नु नै अहिलेको आवश्यकता रहेको बताए ।
नगर प्रमुख पदका उम्मेदवार विष्टले विशिष्ट परिस्थितिमा गठबन्धन बनेको स्मरण गराउँदै आफूहरु निर्वाचित भएपछि सबैले गर्व गर्न लायक काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
‘केपी ओली नेतृत्वको सरकारले जुन रुपमा संविधानलाई धुजा धुजा पार्ने काम गर्यो, भ्रष्टाचारमा लिप्त भयो, त्यसैका विरुद्ध हाम्रा केन्द्रीय नेताहरुले गठबन्धन बनाउनु भएको हो,’ विष्टले भने, ‘विभिन्न परिस्थिती र छोटो समयका कारण नेपालगन्जमा नगर प्रमुख र उपप्रमुख बाहेक वडा स्तरमा गठबन्धन बन्न सकेन, यसमा म दुःखी छु, तरपनि गठबन्धनकै साथीहरु नेपालगन्जका २३ वटै वडामा निर्वाचित हुनुहुनेछ ।’
उनले प्रमुख पदमा आपूलाई रुख चिन्हमा र उपप्रमुखमा कमरुद्दीन राईलाई छाता चिन्हमा मतदान गर्न आग्रह गरे ।
त्यस्तै वडा नम्बर ५ मा पुग्दा मतदाताहरु उत्साहित देखिएका छन् । अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले आफ्नो वडामा विकास निर्माणका कामहरु गर्न नसकेको भन्दै मतदाताहरुले यो पटक युवा र सक्षम नेतृत्वलाई मत दिने भन्दै विजयीको शुभकामना दिएका छन् ।
‘अघिल्लो निर्वाचनमा विजयी भएका जनप्रतिनिधिले कामै गरेनन् स्थानीय मतदाता जलालु हलवाईले भने, ‘यो पटक काम गर्ने र युवालाई भोट हाल्ने हो ।’
अर्का मतदाता राकेश तमौलीले मुखै खालेर यो पटक नेपाली कांग्रेस र जसपाको गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार विष्ट र उपप्रमुख पदका उम्मेदवार कमरुद्दीन राईले भोट हाल्ने बताए ।
घरदैलोमा वडा नम्वर ५ का वडाअध्यक्ष पदका उम्मेदवार, सदस्य पदका उम्मेदवारहरु, प्रदेशसभा सदस्य याकुव अन्सारी, महिला नेतृ माया पुन, निरञ्जनसिंह सिजापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायतका ठूलो संख्यामा काँग्रेसका कार्यकर्ता सहभागी भएका छन् ।