खजुरालाई विकसित सहर बनाउने हाम्रो लक्ष्य छः मञ्जु मल्ल
Sunday, May 8th, 2022, 9:41 am
Kalpristha
बाँकेको खजुरा गाउँपालिकामा आसन्न स्थानीय निर्वाचनका लागि लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष पदका लागि मञ्जु मल्लको उम्मेदवारी रहेको छ ।
स्थानीय निर्वाचान आउन ६ दिन बाँकी रहँदा पालिकामा जितका लागि गठबन्धनतर्फबाट तीव्र प्रचारप्रसारसहित घरदैलो कार्यक्रमहरु भई रहेका छन् ।
स्थानीय निर्वाचन २०७४ मा दोस्रो भएको नेकपा माओवादी केन्द्र र तेस्रो भएको नेपाली कांग्रेसले संयुुक्त भएर वैशाख ३० गते हुने निर्वाचनका लागि अन्य पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैगर्दा खजुरामा गठबन्धन बलियो भएको खजुरावासीको आकलन रहेको छ । जसमा बलियो उम्मेदवारको रुपमा उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु मल्लको चर्चा खजुरामा चुलिँदै गएको छ ।
मल्लको उम्मेदवारी बलियो हुनुमा गठबन्धनसँगै उनको व्यक्तिगत स्वभाव पनि हो । सरल स्वभावकी मल्ल मिलनसार र उनले अग्रजहरुलाई दिने सम्मानले उनी लोकप्रिय बन्दै गएकी हुन् ।
चुनावी प्रचारप्रसारमा खजुराका सबै वडामा घरदैलो गरिरहँदा उनले जनतासँग आफ्नो लागि भोट माग्नुभन्दा जनताका समस्या के छन् भनी बढी सोध्ने गरेकी छिन् । उनले खजुरावासीसँग भोट माग्दै गर्दा अरुलाई गाली गर्नु भन्दा आफूले के गर्न सकिन्छ भन्ने कुरामा जोड दिएको पाइयो ।
मल्ल भन्छिन्, ‘खजुरा गाउँपालिकाको विकासका लागि सबै खजुरावासीको ठूलो सहयोग रहेको छ । चाहे त्यो खजुरामा क्यान्सर अस्पताल बनाउन होस वा कुनै अरु कामहरु । खजुरामा विकासका कामहरु हुँदै गर्दा हाम्रा जनप्रतिनिधिले कति गुणस्तरीय काम गरे भनेर नियाल्न पनि जरुरी रहेको छ । मेरो उम्मेदवारी भनेको खजुरामा हुने हरेक कामलाई गुणस्तरीय बनाउनु हो ।’
मल्ल पालिकामा हुने सडक पूर्वाधारदेखि सामाजिक कामहरुलाई गुणस्तरीय बनाउन जोड दिन्छिन् ।
खजुरा सामाजिक हिसाबले विभिन्न धर्मका मानिसहरुको बसोबास भएको स्थान हो । विशेषगरी हिन्दू र मुस्लिम समुदायको बाहुल्यता रहेको खजुरामा सामाजिक सद्भाव र समावेशी तरिकाले बसोबास गरेका गाउँहरु धेरै रहेका छन् ।
उपाध्यक्षकी उम्मेदवार मल्ल खजुरामा भएका सबै धर्मका व्यक्तिहरुलाई प्रतिनिधित्व हुने उम्मेदवारका रुपमा पनि परिचित छिन् । सामान्य घरपरिवारबाट प्रतिनिधित्व गरेकी मल्लको यात्रा गाउँदेखि सहरसम्म रहेको छ ।
मानिसका दुःख, पीडा, आवश्यकता, सामाजिक परिवर्तन, जनताका हकअधिकारलाई नजिकदेखि बुझेकी मल्लको खजुरा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी सार्थक नै देखिन्छ ।
मल्ल पालिकामा रहेका हरेक जनताले स्थानीय सरकारबाट पाउनु पर्ने सेवासुविधा समान पाउनु पर्ने बताउँछिन् । उनी भन्छिन्, ‘पालिकाले जनतालाई दिनुपर्ने हरेक सेवा सुविधामा जनताको पहुँच हुनुपर्छ । सबैलाई समान व्यवहार गर्नु पर्छ । तर कतिपय अवस्थामा मानिसका अतिआवश्यक कुराहरुलाई मध्यनजर गरेर पनि काम गर्नु पर्ने हुन्छ ।’
मल्ल खजुरामा अझै पनि सहयोग दिने विषयमा आ–आफ्ना नजिकका मान्छे हेर्ने कू–संस्कार रहेको बताउँछिन् । उनी जनतालाई हेर्ने दृष्टिकोणमा जनप्रतिनिधिको समानता हुनुका साथै पालिकाको विकासका लागि दीर्घकालीन योजना र जनताको स्तरोन्नतिका लागि आफूले निर्वाचित भए पछि काम गर्ने बताउँछिन् ।
उनी काम गर्नका लागि भिजन र दृणता हुनु पर्ने बताउँछिन् । जनतालाई विश्वास जिताउन सक्नु नै चुनाव जित्ने आधार रहेको उनको भनाइ छ ।
‘ममा एउटा भिजन छ, खजुरालाई विकसित र सुन्दर बनाउने । त्यो म निर्वाचन जितेपछिमात्र गर्न सक्छु,’ मल्ल भन्छिन् ।
मल्ललाई स्थानीय निर्वाचनका लागि तपाईको प्रचार कस्तो भन्ने प्रश्नमा मल्ल भन्छिन्, ‘चुनावी प्रचारप्रसार मेरोमा हैन सबै पार्टीका उम्मेदवारहरुको आ–आफ्नो दृष्टिकोणमा राम्रो छ । सबैले आफू जित्छु भन्ने मानसिकता हुन्छ । र ममा पनि त्यो छ । जँहा–जँहा म र मेरो टिम पुगेको छ । सबैले राम्रो छ चुनावी प्रचार भन्नु हुन्छ । जितको शुभकामना दिनु हुन्छ । तर त्यसको रिजल्ट वैशाख ३० हुने हो । अब जनताले मलाई कत्तिको विश्वास गर्नु हुन्छ भन्ने हो । मलाई खजुरावासी माथि पूर्ण विश्वास छ । उहाँहरुले मलाई न्याय गर्नु हुन्छ भनेर ।’