जितेपछि जनताको समस्या अधुरो हुन दिन्न : पौडेल
Sunday, May 8th, 2022, 5:36 pm
Kalpristha
नेपाली कांग्रेसका तर्फबाट बाँके राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेलले राप्ती सोनारी गाउँपालिकावासीले झेल्दै आएका समस्या सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको भन्दै सहयोगको अपिल गरेका छन् ।
राप्ती सोनारी गाउँपालिका–७ मा आइतबार घरदैलो कार्यक्रमपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै वडा नम्बर ७ राप्तीनदीको कटान, डुवानबाट पीडित रहेको भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि स्थायी तटबन्धको व्यवस्था गरिने बताए । उनले। कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराए सम्बृद्ध गाउँपालिका बनाउने आफ्नो योजनाले सार्थक पाउने उद्घोष गरे ।
गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले आफ्नो पाँच वर्षीय कार्यकालमा पूरा नभएका योजनाहरुलाई सार्थक बनाउन कांग्रेसका उम्मेदवारहरुलाई मतदान गर्न आव्हान गरेका छन् । थारुले भने, ‘यो पाँच वर्षीय कार्यकालमा धेरै कामहरु भएका छन् ती कामलाई पूर्णता दिन अध्यक्ष पदका उम्मेदवार पौडेलसहितको टीमलाई विजयी बनाउनुहोस् ।’
यसअघि वडा नम्वर ६ मा पनि घरदैलोसँगै चुनावी कोणसभा गरिएको थियो । त्यसकाक्रममा मतदाताहरुले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायतका समस्या सम्बोधनको पहल गर्न आग्रह गरेका थिए ।
उपाध्यक्ष पदका उम्मेदवार मनिषा सिंह थारुसहितका उम्मेदवारहरु सहभागी घरदैलो तथा कोणसभामा कांग्रेसलाई निर्वाचित गराए जनताको सवाललाई क्रमागतरुपमा पूरा गर्ने प्रतिबद्धता जाहेर गरिन् ।
घरदैलोका क्रममा मतदातालाई मत हाल्न सिकाउने कामलाई पनि कांग्रेस राप्ती सोनारीले तीव्रता दिएको छ ।