नेपालगन्जमा अन्तर विद्यालय मेयर कप र राष्ट्रिय खुला पुरुष ब्याडमिन्टन हुँदैं
Wednesday, September 2nd, 2026, 2:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ भदौं
नेपालगन्जमा जिल्ला स्तरीय अन्तर विद्यालय मेयर कप तथा राष्ट्रिय स्तरको खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।नेपालगन्ज ब्याडमिन्टन क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता नेपालगन्ज रंगशालामा आगामी भदौं २७ र २८ गते संचालन हुनेछ ।
बाँके जिल्लाबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा यु–१३ सिंगल्स छात्र–छात्रा, यु–१५ सिंगल्स छात्र–छात्रा र राष्ट्रिय स्तरको खुला पुरुष डबल्स इभेन्ट्स समावेश गरिएको आयोजक नेपालगन्ज ब्याडमिन्टन क्लबका अध्यक्ष एवम् अन्तराष्ट्रिय पदक विजेता खेलाडी अनिल लाखेले बताउनु भयो ।
प्रतियोगिताको विद्यालय स्तरमा आर्कषक पुरस्कार तथा राष्ट्रिय स्तरको खुला पुरुष डबल्स इभेन्ट्सको विजेता टिमले ४० हजार, उपविजेताले ३० हजार, तेस्रो र चौथो हुने टिमले समान १० हजार रुपैयाँ नगद पुरस्कार पाउने अध्यक्ष लाखेले बताउनु भयो । उहाँले पुरस्कारको राशी थप बृद्धि समेत हुन सक्ने जानकारी गराउनु भएको छ ।
प्रतियोगिताको यु–१३ सिंगल्स छात्र–छात्रा र यु–१५ सिंगल्स छात्र–छात्रातर्फको इभेन्ट्समा १ सय ५० भन्दा बढी खेलाडी सहभागि हुन आयोजकले अनुमान गरेको छ ।
राष्ट्रिय स्तरको खुला पुरुष डबल्स इभेन्ट्समा करिब ८० जना खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । राष्ट्रिय स्तरको खुला पुरुष डबल्स इभेन्ट्समा बुटवल, भैरहवा र नवलपरासी लगायतका खेलाडीहरुले सहभागिता जनाउने अध्यक्ष लाखेले बताउनु भयो ।
प्रतियोगितालाई भब्य बनाउन तयारी तिव्र गतिमा भैरहेको नेपालगन्ज ब्याडमिन्टन क्लबका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक बिपिन श्रेष्ठले बताउनु भयो । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका प्रशिक्षण प्रमुख एवम् ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले प्रतियोगिताले नयाँ खेलाडीलाई उत्कृष्ट अवसर प्रदान गर्ने भएकोले बाँकेको लागि प्रतियोगिता महत्वपुर्ण भएको बताउनु भयो ।
५ लाख बजेट रहेको प्रतियोगिता आयोजनाको लागि नेपालगन्ज उपमहानगरपालिकाले मुख्य प्रायोजन गर्नेछ भने राप्तीसोनारी गाउँपालिकाले प्रायोजन र कोहलपुर नगरपालिकाले आर्थिक सहयोग गर्ने आयोजकले बताएको छ ।