स्वस्तिक छापको विवाद
Sunday, May 15th, 2022, 4:05 pm
Kalpristha
मतपत्रमा भेटिएको फरक स्वस्तिक छापको विषयलाई लिएर दलिय विवादपछि शनिबार अपरान्ह स्थगित भएको त्रिपुरासुन्दरी नगरपालिकाको मतगणना सुचारु हुन सकेको छैन । त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर २ को मतपत्र गणना गर्ने क्रममा २ सय १३ मत गणना गरी २ सय १४ आंै मत गणना गर्ने क्रममा निर्वाचन आयोगको मापदण्ड विपरितको स्वस्तिक छाप लगाइएको मतपत्र फेला परेपछि विवाद भई मतगणना कार्य स्थगित भएको थियो ।
वडा नम्बर २ मा मतगणना भएका २ सय १४ मतपत्र नेकपा एमालेका उम्मेद्वारलाई एक छापे लगाइएको आशंकामा नेपाली कांग्रेस र नेकपा(माओवादी)केन्द्रका प्रतिनिधिहरुले विरोध गरेको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले बताएका छन् । उनले वडानं २ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत विष्णुबहादुर केसीले निर्वाचन आयोगको रवरको छापले स्पष्ट रुपमा मसि नलागेपछि आफूले अलिकति ठूलो आकारको पितलको छाप मतपत्रमा लगाउन दिएको जानकारी दिएका छन् । बेल्वासेले अनुसार पितलको छाप दिँदा दलिय सहमतिमा मुचुल्का गर्नु पर्नेमा त्यसो नगरेकाले सामान्य विवाद भएको तर कुनै गलत नियत नरहेको बताइ ।
मतगणनाले अन्तिम रुप लिनु पर्नेमा मतपत्रमा लगाइएको फरक छापको आकारलाई लिएर विवाद भई स्थगित भएको मतगणना शुरु नहुँदा अन्यौलता छाएको छ । विवाद समाधान गरी स्थगित मतगणना शुचारुको लागि तीन चरणमा दलिय सहमति खोज्न नेपाली कांग्रेस नेकपा(माओवादी)केन्द्र र नेकपा एमालेका उम्मेद्वार र प्रतिनिधि राखेर छलफल गराउदा कांग्रेस र माओवादी केन्द्रको पुनँ मतदान गर्नु पर्ने अडान र नेकपा एमालेको मतगणना शुचारु गर्नु पर्ने अडानले सहमति जुट्न नसकेको निर्वाचन अधिकृतको कार्यालय त्रिपुराकोटले जनाएको छ ।