बैजनाथमा मतगणना स्थगित
Sunday, May 15th, 2022, 9:01 pm
Kalpristha
बाँकेको बैजनाथ गाउँपालिकामा मतगणना स्थगित भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले मतगणमा संलग्नका विषयमा विवाद भएपछि मतगणना स्थगित गरिएको हो ।
निर्वाचन अधिकृत टकेबहादुर थापाका अनुसार कर्मचारीको निश्पक्षतामाथि प्रश्न उठाएपछि गणना स्थगित भएको हो ।
नेपाली कांग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसीले मतगणनामा खटिएका कर्मचारीको शंकास्पद गतिविधी देखिएपछि आफुहरुले त्यहाँ खटिएका कर्मचारी परिवर्तन गर्नुपर्ने माग राखेको बताए । कर्मचारी परिवर्तन नहुँदासम्म आफूहरु मतगणनामा सहभागी नहुने उनको भनाइ छ ।
‘मत गणनामा खटिएका कर्मचारीको गतिविधी पहिल्यैदेखी शंकास्पद थियो, उनीहरुले हाम्रा प्रतिनिधीको अनुपस्थितीमै मत परिणाम घोषणा गरिदिए, गणना गर्दाखेरी पनि उम्मेदवारको अंक घटबढ गराउन थालेपछि हामीले कर्मचारीको निश्पक्षतामाथी प्रश्न उठाएका हौं,’ सभापति केसीले भने ‘भित्र कर्मचारीको शंकास्पद ब्यवहार छ, बाहिर एमालेका नेता कार्यकर्ताले एक मतले पनि हामी चुनाव जित्छौं भन्दै हुनुहुन्छ, हामीलाई शंका लागिरहेको छ ।’
उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका सहायक निर्वाचन अधिकृत दानबहादुर ऐडीलगायत गणनामा संलग्न कर्मचारीको भूमिका शंकास्पद रहेको असन्तुष्ट दलले बताएका छन् ।
कर्मचारीले मतगणनामा बद्मासी गरेको भन्दै निवेदन दर्ता गराएका छन् । उक्त गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका प्रकाशबहादुर शाही र निर्मला रोकायले अग्रता लिएका छन् ।
२०७४ को निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमालेले जितेको थियो ।