कहा कस्तो कति मतअन्तर ?
Sunday, May 15th, 2022, 11:44 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकामा मेयरका उम्मेदवार प्रशान्त विष्ट १ हजार १ सय ७ मत अन्तरले अगाडि रहेका छन् । यो सामाचार तयार पर्दासम्म नेपाली कांग्रेसबाट उम्मेदवार दिएका विष्टले दुई हजार एक सय ४० मत लाएका छन् ।
विष्टका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले १ हजार ३३ मत ल्याउँदा नेकपा एमालेका पशुपति दयाल मित्रले भने ९ सय ६८ मत ल्याएका छन् ।
उप–प्रमुखमा पनि गठबन्धनतर्फबाट जसपाका उम्मदेवार कमरुद्दीन राईले अग्रता लिएका छन् । उनले १ हजार ४ सय ४२ मत ल्याएका छन् । राईलाई पछ्याई रहेकी राप्रपाबाट उम्मेदवारी दिएकी बिन्दु चर्तीमगरले भने १ हजार ८४ मत ल्याएकी छिन् ।
नेकपा एमाबाट उप–प्रमुखमा उम्मेदवारी दिएकी शान्ति ढकालले ८ सय ८४ मत ल्याएकी छिन् ।
हाल नेपालगन्ज उप–महानगरपालिका–१२ मा रहेको भेरी प्राविधिक प्रशिक्षालयमा मतगणना जारी रहेको छ ।
कोहलपुरमा कांग्रेसले अग्रता जमाउँदै
बाँकेको कोहलपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । कोहलपुरमा सुरुवाती मतगणनादेखि नै माओवादी अग्रता लिएको थियो । तेस्रो स्थानमा रहेको कांग्रेस उक्लिएर पहिलो स्थानमा आएको छ ।
नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार पूर्णप्रसाद आचार्यले १ हजार ६ सय ६४ मत पाएर अग्र स्थानमा छन् भने माओवादीका नरेन्द्र न्यौपानेले १ हजार १ सय २५ मत पाएर तेस्रो बनेको छन् । दोस्रो बनेको नेकपा एमालेका खिलप्रसाद भुसालले १ हजार २ सय ९ मत पाएका छन् ।
त्यस्तै नगर उपप्रमुखमा पनि नेपाली कांग्रेसकी संगिता सुवेदीले १ हजार ६ सय ७१ मत पाएर अग्र स्थानमा छिन् । नेकपा एमालेकी नारायणी ओलीले १ हजार २ सय ७४ मतसहित दोस्रो हुँदा नेकपा एसले भने ५ सय ८९ मत पाएको छ ।
जानकीमा कांग्रेसको अग्रता कायमै
बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेसले सुरुवाती मतगणनादेखि नै अग्रता लिँदै आएको छ । यो समाचार तयार पार्दासम्म कांग्रेसका अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ र उपाध्यक्षी पदकी उम्मेदवार रामप्यारी यादवले ८ सय मतअन्तरले अग्रता लिएका छन् ।
पालिकाको वडा नम्बर १ र २ को ५ हजार ८ सय ४५ मतगणना गरिसक्दा छब्बन खाँले १ हजार ९ सय ९५ र रामप्यारी यादवले २ हजार ७२ मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार हिमान्सु यादवले १ हजार २ सय ४३ मत पाउँदा जसपाका राजिब बर्माले १ हजार ७४ मत पाएका छन् ।
यसअघि एमालेका यादव तेस्रो स्थानमा थिए । उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।
त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका रक्षाराम बर्माले १ हजार १ सय ४९ मत पाउँदा एमालेकी भूमिसरा धितालले ७ सय ८७ मत पाएकी छिन् ।
यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसकी रामप्यारी यादवलाई हराउँदै भूमिसरा धिताल पालिकाको उपाध्यक्ष भएकी थिइन् ।
राप्ती सोनारीमा एमालेको अग्रता
राप्ती सोनारी गाउँपालिकामा यो समाचार तयार पार्दासम्मको मतगणना अनुसार एमालेका रामदास थारुले ५ हजार २ सय ३४ मत ल्याउँदै पहिलो स्थानमा छन् भने कांग्रेसका तप्त पौडेल ५ जार १ सय २० मतका साथ दोस्रो स्थानमा छन् ।
त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले ३ हजार ३ सय ५७ मत ल्याएका छन् । एमालेकी चमेली बागवलको ५ हजार ३ सय १६, कांग्रेसकी मनिषासिंह थारुको ५ हजार ८७ र माओवादीकी मन्जु रोकायले ३ हजार ९ मत पाएका छन् ।
डुडुवामा १ सय मत अन्तरले कांग्रेस अगाडि
बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार नरेन्द्र कुमार चौधरी अगाडि रहेका छन् । वडा नम्बर १ मा गणना गरिएको ३ हजार ८ सय १० मतमध्ये चौधरीलाई १ हजार ४ सय ९ मत प्राप्त भएको छन् ।
त्यस्तै एमालेबाट अध्यक्ष पदको उम्मेदवार सरोजकुमारी यादवले ९ सय ९६ मत पाउँदा जसपाले ४ सय ७५ र माओवादी केन्द्रले ७० मत पाएको छ ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी साहिदा बानो खाँले अग्रता लिएकी छिन् । उनले १ हजार २ सय ७१ मत प्राप्त गर्दा एमालेबाट उपाध्यक्ष पदको उम्मेदवार सकिल खाँले ८ सय ७६ मत प्राप्त गरेका छन् ।
त्यस्तै जसपाले ५ सय २५ र माओवादीले ८७ मत पाएको छ ।
सो वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष ८ सय ४२ मतका साथ अग्रपंक्तिमा रहेका छ ।
अहिले पनि डुडुवामा मत गणना जारी रहेको छ ।