निर्वाचन अधिकारीका गतिविधी शंकास्पद
Monday, May 16th, 2022, 12:22 am
Kalpristha
स्थानीयमा तहमा कार्यरत प्रमुख प्रशासकिय अधिकृत देखी लिएर तल्लो तहका कर्मचारीलाई सोही स्थानीय तहको निर्वाचन कर्मचारीका रुपमा खटाइएको छ । जुन निस्पक्ष निर्वाचनको मर्म विपरित हो ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ जेठ
बाँकेको स्थानीय तहको निर्वाचनमा खटाईका निर्वाचन अधिकृतको बारेमा निर्वाचन आयोग नेपालले गल्ती गरेको देखिएको छ । स्थानीयमा तहमा कार्यरत प्रमुख प्रशासकिय अधिकृत देखी लिएर तल्लो तहका कर्मचारीलाई सोही स्थानीय तहको निर्वाचन कर्मचारीका रुपमा खटाइएको छ । जुन निस्पक्ष निर्वाचनको मर्म विपरित हो । यसले निर्वाचनको निस्पक्षतामा प्रश्न चिन्ह उत्पन्न भएको छ ।
बाँकेको खजुरा गाउँपालिकामा निर्वाचन अधिकृतको रुपमा गाउँपालिकाकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीलाई खटाइएको छ । खजुरा गाउँपालिकाको निर्वाचनमा टिममा अधिकांश पालिकामा कार्यरत कर्मचारीनै छन । जुन निर्वाचनको आचार संहिता विपरित पनि हो ।
यसले निर्वाचन गराउन र मतगणनामा समेत असर पर्ने बताउँछन नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी ।
उनले भने, ‘निर्वाचन आयोगले स्वार्थ बाझिने कर्मचारीलाई सोही स्थानीय तहमा पठाउनु भनेको क्रुटीपुर्ण काम हो । यसलाई तत्काल सच्याउन निर्वाचन आयोगलाई म आग्रह गर्दछु । यसले निर्वाचनलाई निस्पक्ष बनाउँदैन ।’
यसैगरी बैजनाथ गाउँपालिकामा पनि पालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृतलाई निर्वाचन सहायक अधिकृतका रुपमा खटाएको पाइएको छ । उनको गतिविधिलाई लिएर विवाद उत्पन्न भएपछि हाल बैजनाथको मतगणना स्थगित भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले मतगणनाको विषयमा विवाद भएपछि मतगणना स्थगित गरिएको हो ।
निर्वाचन अधिकृत टेकबहादुर थापाका अनुसार कर्मचारीको निश्पक्षतामाथि प्रश्न उठाएपछि गणना स्थगित भएको हो ।
नेपाली कांग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसीले मतगणनामा खटिएका कर्मचारीको शंकास्पद गतिविधी देखिएपछि आफुहरुले त्यहाँ खटिएका कर्मचारी परिवर्तन गर्नुपर्ने माग राखेको बताए । कर्मचारी परिवर्तन नहुँदासम्म आफूहरु मतगणनामा सहभागी नहुने उनको भनाइ छ ।
‘मत गणनामा खटिएका कर्मचारीको गतिविधी पहिल्यैदेखी शंकास्पद थियो, उनीहरुले हाम्रा प्रतिनिधीको अनुपस्थितीमै मत परिणाम घोषणा गरिदिए, गणना गर्दाखेरी पनि उम्मेदवारको अंक घटबढ गराउन थालेपछि हामीले कर्मचारीको निश्पक्षतामाथी प्रश्न उठाएका हौं,’ सभापति केसीले भने ‘भित्र कर्मचारीको शंकास्पद ब्यवहार छ, बाहिर एमालेका नेता कार्यकर्ताले एक मतले पनि हामी चुनाव जित्छौं भन्दै हुनुहुन्छ, हामीलाई शंका लागिरहेको छ ।’
उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका सहायक निर्वाचन अधिकृत दानबहादुर ऐडीलगायत गणनामा संलग्न कर्मचारीको भूमिका शंकास्पद रहेको असन्तुष्ट दलले बताएका छन् ।
कर्मचारीले मतगणनामा बदमासी गरेको भन्दै निवेदन दर्ता गराएका छन् । उक्त गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका प्रकाशबहादुर शाही र निर्मला रोकायले अग्रता लिएका छन् । यो समाचार तयार पार्दासम्म बैजनाथमा मतगणना सुरु भएको छैन ।