कांग्रेस पराजय हुनुमा पार्टीभित्रको अन्तरघात प्रमुख
Wednesday, May 18th, 2022, 7:36 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, ४ जेठ
स्थानीय तह निर्वाचनमा त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली कांग्रेसले पराजय भोक्नुमा पार्टी भित्रको अन्तरघात प्रमुख रहेको नेपाली कांग्रेस त्रिपुरासुन्दरी नगर कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले पराजय भोक्नुको कारण पहिचान र आगामी रणनीति निर्माणका लागि स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गर्न बसेको कांग्रेसको नगर बैठकले उक्त निष्कर्ष निकालेको हो ।
त्रिपुरासुन्दरी नगर सभापति टोपबहादुर शाहीको अध्यक्षतामा बसेको समिक्षात्मक बैठकले त्रिपुरासुन्दरी नगरपालिकामा कांग्रेसका नगरप्रमुख उपप्रमुखका उम्मेद्वार चन्द्रलाल धराला र शावित्री पहाडी लगायत वडास्तरमा पराजय भोक्नुमा पार्टी भित्रकै गुटउपगुट र आन्तरघात प्रमुख रहेको निष्कर्ष निकालेको हो ।
नगर प्रमुखका उम्मेदवार चन्द्रलाल धरालाले आफूले पार्टी भित्रकै अन्तरघातका कारण पराजय भोक्नु परेको बताए । पार्टीका क्रियासिल कार्यकर्ता प्रेम पहाडीले प्रमुख र उपप्रमुखलगायत वडास्तरमा पराजय भोक्नुमा पार्टीका पुराना एवं वरिष्ठ नेता दिलबहादुर विष्टले पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरी नगरप्रमुखमा उम्मेदवार बन्नु, कांग्रेसका प्रदेश सचिव लगायतका केहि कार्यकर्ता पनि माओवादी केन्द्रमा प्रवेश गर्नु, निवर्तमान वडाअध्यक्षहरुले टिकट नपाएको कारण विपक्षी पार्टीलाई सहयोग गर्नु पार्टी पराजय हुनुको प्रमुख कारण रहेको उनले बताए ।
नेपाली कांग्रेसले निर्वाचनको मुखैमा पार्टीका हस्तीहरुसमेत पार्टी परित्याग गरेर अन्य पार्टीबाट उम्मेदवार बनिरहँदासमेत सम्मानित मत ल्याएर दोस्रो स्थान हासिल गरेको उल्लेख गर्दै अबको त्रिपुरासुन्दरी नगरपालिकामा कांग्रेस निणर्ायक शक्ति बनेको पूर्व पार्टी सभापति टंकप्रसाद उपाध्यायले बताए ।
नेपाली कांग्रेसका नगरप्रमुख चन्द्रलाल धराला र उपप्रमुख शावित्री पहाडीले क्रमश १ हजार ५ सय ९६ र १ हजार २ सय ७७ मत ल्याएर पराजय भोक्नु पर्यो ।
यसैगरी १ वटा वडाअध्यक्ष र ४ वटा वडासदस्य जित हासिल गरेको कांग्रेस त्रिपुरासुन्दरी नगरपालिका कार्यापालिकामा भने निणर्ायक शक्ति बनेको छ । त्रिपुरासुन्दरी नगरपालिकामा नेकपा एमाले प्रमुख उपप्रमुखसहित ५ वटा वडाअध्यक्ष र सदस्य गरेर २७ सदस्य छन् भने नेकपा माओवादी केन्द्रका ५ वडाअध्यक्ष २४ सदस्य नगरसमितिमा सदस्यमा निर्वाचित भएका छन् । १ जना सदस्य एकिकृत समाजवादीका सदस्य निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसले नगरपालिकाम पेस गर्ने आगामी नीति तथा कार्यक्रम र रणनीतिमा जुन पार्टीले साथ सहयोग गर्छ त्यसै पार्टीलाई कांग्रेसले समर्थन गर्नेसमेत निणर्य गरेको नगरसभापति टोपबहादुर शाही बताए ।