नेपालगन्जमा क्रिकेट मैदान नहुँदा कोहलपुरमा लिग खेलाइँदै
Friday, May 20th, 2022, 7:49 pm
Kalpristha
क्रिकेटको एतिहासिक सहरका रुपमा चिनिने नेपालगन्ज हाल क्रिकेट मैदानबिहीन बनेको छ ।
जसका कारण नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा हुन लागेको क्रिकेट लिग कोहलपुरमा खेलाउन जिल्ला क्रिकेट संघ बाध्य बनेको छ ।
शुक्रबार बाँके जिल्ला क्रिकेट संघले पत्रकार सम्मेलन गरेर जेठ १० गतेदेखि कोहपुर क्रिकेट मैदानमा आयोजना हुने नेपालगन्ज उपमहानगर क्रिकेट लिगको बारेमा जानकारी गराएको छ । तर नेपालगन्जको नाममा रहेको उक्त लिग कोहलपुरमा खेलाउन लागिएको बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोबर प्रसाईले बताए ।
आयोजकका अनुसार उक्त लिग नकाउट चरणमा खेलाइने छ । लिगमा आठवटा टिमको सहभागिता हुनेछ ।
लिगमा प्रथम टिमलाई १ लाख, दोस्रो टिमलाई ५० हजारको पुरस्कार राखिएको छ । साथै म्यान अफ द म्याच, बेस्ट ब्याटर, बेस्ट बलर र म्यान अफ त सिरिजको पनि व्यवस्था रहेको छ ।
नेपालगन्जको मंगलप्रसाद उच्च माविमा रहेको क्रिकेट मैदान विद्यालयले भत्काएपछि हाल नेपालगन्जमा क्रिकेट खेलाउनका लागि अर्को मैदान छैन । विद्यालयको पर्खाल निर्माण गर्ने क्रममा विद्यालयमा रहेको क्रिकेट संरचना भत्काएको थियो । सो क्रिकेटका संरचना भत्काएपछि खेलाडीलाई दैनिक अभ्यासको लागि समस्या भोग्दै आउनु परेको अध्यक्ष प्रसाईले बताए ।
नेपालगन्जको मंगलप्रसाद उच्च माविमा रहेको क्रिकेट मैदान यस क्षेत्रको निकै पुरानो क्रिकेट मैदान हो । जहाँबाट यस क्षेत्रका हजारौं खेलाडीले आफ्नो क्रिकेट खेल करियरको सुरुआत गरेका थिए ।
महिला क्रिकेटको उद्गम स्थलका रुपमा लिइन्छ मंगलप्रसाद उच्च माविको क्रिकेट मैदान । तर पछिल्ला केहि वर्षदेखि विद्यालय व्यवस्थापन समिति र क्रिकेट संघबिच मैदानको विषयलाई लिएर केहि मतभिन्नता उत्पन्न भएको थियो । विद्यालयले दैनिक पठन पाठनमा असर गरेको भन्दैं क्रिकेटका गतिविधिलाई आफनो मैदानमा रोक लगाउने प्रयास गरिरहेको थियो ।
बाँके जिल्ला क्रिकेट संघको पहलमा विद्यालयको शैक्षिक क्रियाकलापलाई प्रभावित नगर्ने गरी प्रतियोगिता र अभ्यास गर्ने सहमति भएको थियो । तर विद्यालय व्यवस्थापनले क्रिकेट खेलाडीको भावनालाई वेवास्ता गर्दै संघले निर्माण गरेका संरचना पुर्व जानकारी बिना भत्काएको छ । विद्यालयको त्यस्तो कार्यले खेलाडीलाई निकै असर पर्ने बताउँछन् क्रिकेटका पूर्व खेलाडी मेराज अन्सारी ।
अध्यक्ष प्रसाईले विद्यालय व्यवस्थापनले गरेको कार्य दुखदपूर्ण कार्य भएको बताउँछन् । कुनै जानकारी बिना क्रिकेटका संरचना भत्काउनु गैरजिम्मेवारी पूर्ण कार्य भएको अध्यक्ष प्रसाईले बताए ।
उनले भने,‘मंगल प्रसाद क्रिकेट मैदान हाम्रो लागि निकै महत्वपुर्ण स्थान हो । यसले बाँकेको क्रिकेटलाई जोगाएको छ । हामी मंगलप्रसाद माविको विकल्पको खोजि गरिरहेका छौं । त्यसको व्यवस्थापन हुँदैछ । तर आज आएर हामीले बनाएका संरचना विद्यालयले जानकारी बिना भत्काउनु भनेको गैरजिम्मेवारी पूर्ण काम हो । यसले समाजमा नकारात्मक असर गर्छ ।’
मंगलप्रसाद उच्च मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष ब्रिजेश सिंहले क्रिकेट खेल र खेलाडीसँग आफ्नो कुनै दुस्मनी नभएको बताएका थिए । विद्यालयले भौतिक पूर्वाधार विस्तार गर्ने क्रममा क्रिकेटका संरचना भत्काउनु परेको कालपृष्ठ दैनिकसँग बताए ।
सामाजिक विकास मन्त्रालयको ९ लाख आर्थिक सहयोगमा विद्यालयले अहिले दक्षिण तर्फको पर्खाल निर्माण गर्ने काम गरिरहेको छ । त्यसमा २० प्रतिसत विद्यालयले खर्च गर्नेछ । यसैगरी विद्यार्थीको लागि पानी पिउने व्यवस्था गर्नको लागि १ लाख ५० हजार सहयोग प्राप्त भएको छ । त्यसबाट पिउने पानीको विद्यालयले व्यवस्था गरिरहेको अध्यक्ष सिंहले बताए ।
सिंहले क्रिकेटका वास्तविक खेलाडीलाई दैनिक अभ्यास गर्न विद्यालयले कहिलैं पनि रोक नलगाउने बताए । तर खेलाडीको नाममा विद्यालयमा गैरसामाजिक क्रियाकलाप हुने भएकोले त्यसलाई रोक्ने प्रयास विद्यालयले गरेको बताउँछन् सिंह ।
पूर्व क्रिकेटर अन्सारीले भने विद्यालयले संरचना भत्काउँदा सहकार्य गर्नु पर्ने बताउँछन् । उनले थपे,‘विद्यालयले भौतिक पूर्वाधार विस्तार गर्नु पर्छ । यदि त्यस्तो योजना थियो भने हामीले संरचनालाई केहि जोगाउन प्रयास गर्न सक्थ्यौं ।
तर जानकारी बिना लाखौं रकम खर्च गरेर निर्माण गरिएका संरचना बिग्रियो । यसले खेलाडी र संघलाई धेरै क्षति भएको छ ।’