खजुराको कमाण्ड सम्हाले तुफानले
Friday, May 20th, 2022, 7:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ जेठ
खजुरा गाउँपालिका नवनिर्वाचित अध्यक्ष डम्बर विक तुफानले शुक्रबारदेखी कार्यभार सम्हालेका छन् । जिल्ला न्यायधिश खडानन्द तिवारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण गरेर फर्किए लगत्तै खजुरा स्थित गाउँपालिकाको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन ।
नव निर्वाचित अध्यक्ष विक र उपाध्यक्ष मन्जु मल्ललाई निर्वतमान गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति र निर्वतमान उपाध्यक्ष एकमाया विकले स्वागत गरेका थिए ।
अब केहि दिनमै उपाध्यक्ष मल्ल सहित खजुरा गाउँपालिकामा हरेका ८ वडामा निर्वाचित अध्यक्ष र सदस्यहरुलाई नवनिर्वाचित अध्यक्षले पद तथा गोपनियताको सपथ ग्रहण गराउँपछि पदभार सम्हाल्ने कार्यक्रम रहेको छ ।
खजुरा गाउँपालिकामा स्थानीय निर्वाचन २०७९ मा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डम्बर विक तुफान र उपाध्यक्षमा नेपाली कांग्रेसकी मन्जु मल्लले चुनाव जितेका थिए ।
गाउँपालिकामा रहेका ८ वडा मध्ये ५ मा माओवादी २ वडामा कांग्रेस र १ वडामा एमालेले जितेको थियो ।
नवनिर्वाचित अध्यक्ष विकले निर्वतमान पदाधिकारीले पाँच वर्षको अवधिमा जे–जस्तो योगदान गर्नु भयो त्यसका लागि धन्यवाद दिए । उनले भने,‘विगतको अनुभव र सक्रियता समृद्ध खजुरा बनाउने अभियानमा अहिले पनि आवश्यक पर्नेछ । हाम्रो सपना खजुरालाई बनाउने हो । ऐतिहासिक सम्भावना बोकेको भएपनि खजुरा कहि कतैं पछि परेको अनुभव हामीले गरेकैं हो ।
खजुरालाई देशभरमा उत्कृष्ट पालिकाको रुपमा अगाडी बढाउन सबै राजनिति दलहरु मिलेर जानु पर्छ ।’
आगामी दिनमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग सहकार्य गरेर अगाडी बढने विकले बताए । उनले थपे,‘ दलिय व्यवस्थामा हार जित स्वभाविक प्रक्रिया हो । पदमा आउने व्यक्ति बदलिरहन्छ । तर हामी खजुरावासी सधै एकै रहन्छौं । अब नयाँ ढंगबाट खजुरालाई उचाईमा लग्न सबैको साथ र सहयोगको म अपेक्षा गर्दछु । नयाँ जनप्रतिनिधि साथीहरुलाई नयाँ सोच र परिकल्पनाका साथ अगाडी बढन पनि अनुरोध गर्दछु ।’
निर्वतमान गाउँपालिका अध्यक्ष कक्षपतिले समृद्ध खजुरा बनाउने अभियानलाई वर्तमान टिमले पुरा गर्ने विश्वास व्यक्त गरे । उनले भने,
‘लोकतन्त्रको उचतम् अभ्यास हो आवधिक निर्वाचन । हामी अहिले संघीयता कार्यन्वयनको दोस्रो चरणमा छौं । पाँच वर्षमा हामीले खजुरालाई समृद्ध बनाउने सपना देखेको थियौं । १५ वर्षमा खजुरालाई कस्तो बनाउने भन्ने योजना बनाएका थियौं । त्यो योजना र सपना अहिलेका पदाधिकारीले पुरा गर्ने विश्वास लिएको छु । खजुुराको विकासको अभियानमा हामी साथमै रहने प्रतिवद्धता जनाउँछु ।’