सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ
Saturday, May 21st, 2022, 6:13 pm
Kalpristha
आठ वर्षअघि सौन्दय प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् ।
कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग बतायो ।
पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजना गरेका थिए ।
सोही प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ ।
त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको पनि उनले बताएकी छिन् ।
बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् ।
सौन्दर्य प्रतियोगिताका नाममा हिंसा पीडितले सार्वजनिक गरिन् आठ वर्ष पुरानो घटना
तर जबरजस्ती करणीसम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद भएका कारण कानूनी कारबाही अघि बढाउन जटिलता देखिएको प्रहरीले बताएको थियो ।
त्यसबारे थाहा पाएपछि उनले पुनः विक्षिप्त हुँदै अर्को भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसपछि संसद्मा पनि यो विषयले प्रवेश पायो ।
जबरजस्ती करणीको मुद्दामा हदम्याद हटाउन माग गर्दै युवाले स्वतः स्फूर्तरुपमा भेला भएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिए ।
राजधानीबाहिर पोखरा, झापालगायतका विभिन्न शहरमा पनि उनको न्यायका लागि भन्दै प्रदर्शन भए ।
गृहमन्त्रालयले शुक्रबारै घटनाको छानविनका लागि भन्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति बनायो ।
समितिले शुक्रबारै पीडितलाई भेटेर कानूनी प्रक्रिया अघि बढाउने आवश्सन दिएको थियो ।
साभार–अनलाइन खबर