पशुपालनबाट आत्मनिर्भरको बाटोमा राप्ती सोनारीका किसान
Wednesday, June 8th, 2022, 12:35 pm
Kalpristha
बाँकेको राप्तीसोनारी प्राकृतिक स्रोतमा धनी गाउँपालिका हो । यहाँका अधिकांश मानिसहरु कृषिमा जोडिएका छन् भने कृषि कर्म गर्ने प्राय सबै किसानले बाख्रा पालन गरेका छन् ।
हालकोे अवस्थामा राप्ती सोनारी बाख्रा पालनको पकेट क्षेत्रको रुपमा विकसित भई रहेको छ ।
राप्तीसोनारीमा विशेषगरी महिलाहरु बाख्रापालनमा धेरै लागेका छन् । उनीहरुको लगनशिलता र मेेहेनतले गाउँपालिकाको आर्थिक विकासमा समेत टेवा पुर्याउने काम गरेको छ । बाख्रापालनले राप्तीसोनारीका महिलामा आर्थिकस्तर र पहुँचलाई विस्तार गरिरहेको छ । राप्तीसोनारीमा थुप्रै महिलाले बाख्रापालन गरेर उदाहरणीय काम गरेका छन् । उदाहरणीय काम गर्ने महिलाको अग्रपंक्तिमा पर्ने गर्छिन्, लिला भण्डारी ।
‘पहिले-पहिले खसी, बाख्रा पाल्छुभन्दा लाज लाग्थ्यो । आजभोली गर्व लाग्छ,’ राप्तीसोनारी गाँउपालिका-२, मदुवाकी लिला भण्डारी भन्छिन्, ‘बाख्रा पालेकै कारण सम्मानित भएँ । सम्मानले अझै हौसला मिल्यो ।’ पुस्तौदेखि बाख्रापालन गर्दै आएको परिवारमा पहिलोपटक सम्मानको अनुभूति गरेकी उनले समुदायमा व्यवसायीको पहिचान पनि बनाई सकेकी छिन् । यतिमात्र होइन, कृषि कर्म पनि सम्मानित पेसा रहेको उनले बुझिन् ।
गाउँघरतिर घरको काम सकेर गृहिणीहरूले फुर्सदमा एउटारदुईटा बाख्रा, कुखुरा, गाई गोरु पाल्ने पुर्खौ देखिको चलन हालसम्म कायमै छ । तर आजभोलि यहि पशुपालनबाट राम्रो कमाइ गर्न सकिने भएपछि बाँके राप्तीसोनारीका महिलाहरूले व्यवसायिक रूपमा पशुपालन गरिरहेका छन् । यो व्यवसायले महिलाहरूको आयस्तरमा मात्रै सुधार भएको छैन् । उनीहरुलाई आत्मसम्मानको प्रत्याभूतिसमेत दिन लागेको छ ।
बाख्रापालन गरेर सम्मानित भएपछि आत्मसम्मानको महसुस भएको लीलाले बताइन् ।
पशुपालन थालेपछि यहाँका कृषक महिलाहरुको घरखर्चका लागि परिवारका अन्य सदस्यको कमाइमा भरपर्नु पर्ने बाध्यताको अन्त्य भएको छ । यति मात्रै होइन, भारतका विभिन्न ठाउँमा कमाइका लागि जाने यहाँका श्रीमानहरू श्रीमतीसँगै पशुपालनमा रमाउन थालेका छन् । अर्काको देशमा पसिना बगाउनु भन्दा परिवारसँगै बसेर स्वदेशमै पसिना बगाउन पाएपछि उनीहरू पनि दंग छन् ।
समयसँगै गाईगोरु, बाख्रा, कुखुरा पाल्नेहरूलाई गोठालोका रूपमा मात्र नभई हेलाको दृष्टिले हेर्ने चलन फेरिएको छ । वस्तुभाउलाई पनि व्यवसायिक रूपमा अगाडि बढाउन थालिएको छ । यसले गर्दा उनीहरूको आम्दानीको श्रोत नै वस्तुभाउ पालन बनेको छ भने यसैबाट घरपरिवारको खर्च टर्छ । मासुजन्य पौष्टिक आहारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता पनि हटेको छ ।
पशुपालन गर्न थालेपछि यहाँका सामान्य गृहिणीले पनि महिनामा १०/१२ हजार रूपैयाँ कमाउने गरेको गाउँपालिकाले जनाएको छ । पशुपालनले रोजगारी दिनुका साथै गृहिणी महिलाहरूको जीवनशैलीमा पनि परिवर्तन आएको छ । हिजो गोठालोको रूपमा मात्रै चिन्नेहरूले आजभोलि पशुपालक व्यापारीका रूपमा चिन्न थालेका छन् । यो राप्ती सोनारीका महिलाहरूका लागि ठूलो परिवर्तन हो । आत्मसम्मानले पशुपालन गर्न थप हौस्याएको कृषक महिलाहरू बताउँछन् ।
महिलाहरूमा यो परिवर्तन आएको धेरै समय भएको छैन् । ४/५ वर्ष मात्रै भयो, उनीहरूले यो खुसी भेटेको । महिला समूह, स्थानीय सरकार, गाँउपालिका, वडापालिकालगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगका कारण उनीहरूको जीवनशैलीमा परिवर्तन आएको हो ।
लीला जननी सामाजिक उद्यमी सञ्जालमा सदस्यछिन् । यो सहकारीमा आबद्ध भएको तीन वर्ष भयो । सहकारीको सहयोगका कारण एउटा/दुईटा खसी पाल्ने उनीसँग १० वटा खसी छन् । यस्ता समूह सहकारीको साथका कारण यहाँका महिलाहरूको जीवनशैली बदिलएको उनी बताउँछिन् । गाउँमा रहेको उनी आबद्ध यो सहकारीमा मात्रै ६ सय २ जना महिला आबद्ध छन् । उनीहरूले पनि बाख्रापालन, भैँसीपालन, बंगुरपालन गरेका छन् । धेरैजसोले पुर्खौदेखि पाल्दै आएको र पाल्न सहज भएका कारण बाख्रापालन गरेको बताउँछन् । घरधन्दासँगै बाख्रापालनले आम्दानी पनि हुन थालेपछि परिवार पाल्न सहज भएको लीलाले बताइन् ।
उनीजस्तै, राप्ती सोनारीकै ५० वर्षीया झलकुमारी ओली पनि बाख्रापालनमा व्यस्त छिन् । उनले पनि ९/१० वटा बाख्रा नियमित रूपमा पालीरहेकी छिन् । उनी पनि बाख्रा पहिलेदेखि नै पाल्थिन् । तर आजभोलि सहकारीबाट बाख्रापालन सम्बन्धी ज्ञान सीप आर्जन गर्ने मौका पाइन् । उक्त ज्ञानका कारण उनले बाख्रापालनलाई व्यवसायिक रूपमा सुरु गरिन् । यसैबाट पारिवारिक खर्च टर्नुका साथै छोराछोरीको पढाइ खर्च टर्ने गरेको उनको भनाइ छ । यसैबाट उनका छोराछोरीले स्नातक तह पनि पढ्न पाएको उनी बताउँछिन् ।
बाख्रापालन गर्ने महिलाहरूका लागि एउटा समस्या थियो, बाख्रा बिक्री नहुने । तर आजभोलि यो समस्या पनि समाधान भइसकेको छ । ‘पहिले पालेका खसी बेच्न दसँै नै कुनुपर्ने अवस्था थियो । तर अहिले चाहेको समयमा बेच्न पाइन्छ,’ ओलीले भनिन् । बाख्रा पाल्न थालेपछि गाउँपालिकाले घाँसका बीउ सहयोग गरेको उनी बताउँछिन् । बाख्राका लागि घाँस काट्न जंगल जानुपथ्र्यौ । अहिले घाँस पनि घरमै रोपिएको उनले बताइन् । जंगलमा घाँस काट्न जाँदा यहाँका धेरै महिलाहरू बाघको आक्रमणमा पर्ने गरेका छन् । नजिकै बाँके राष्ट्रिय निकुञ्ज भएका कारण यहाँका जंगली जनावरले बेलाबेलामा पशुपालन, बालीनाली र मानवीय क्षतिसमेत गर्ने गरेको छ । यो वर्ष पनि बाघले बाँके निकुन्ज क्षेत्रमा आधादर्जन मानिसमाथि आक्रमण गरेको थियो । त्यसमध्य केहिले ज्यान गुमाइसकेका छन् ।
निकुञ्ज नजिक भएका कारण यहाँ पशुपालन फस्टाएको हो । तर बेलाबेलामा जंगली जनावरको आक्रमण हुने गरेका कारण समस्या छ । केहि सरकारी तथा गैरसरकारी निकाय र गाउँपालिकाको सहयोगका कारण केहि व्यवसायी महिलाहरूले घरमै घाँसखेती गर्न थालेका छन् ।
सहकारीले किसानहरूलाई आवश्यक परेको समयमा पेस्की पनि दिने गरेकाले बाख्रापालनमा थप सहज भएको उनीहरूको भनाइ छ । ५३ किलोको खसी पहिले २ सय ५० रूपैयाँमा बेच्नुपरेको दुखेसो सुनाउँदै ओलीले अहिलेका अवस्थामा राम्रो मोल पाउने गरेको बताइन् ।
राप्तीसोनारी गाँउपालिका वडा नम्बर २ कै ३० वर्षीया धन कुमारी खड्काको खोरमा पनि अहिले १५ वटा खसीबाख्रा छन् । उनी पनि पहिले एउटा/ दुईटा खसी पाल्थिन् । आजभोलि व्यवसायिक रूपमा बाख्रापालन गरेकिछिन् । यी खसीबाख्रा बेच्न उनलाई पनि पहिलेको जस्तो समस्या छैन् । बाख्रा व्यवसायीहरु उनीहरुको घरसम्मै बाख्रा खरिद गर्नका लागि आई पुग्छन् ।
पहिले बिचौलियाका कारण बाख्रापालक किसानले राम्रो मूल्य नपाउने समस्या थियो । तर आजभोलि सहकारीमार्फत् सहजै बेच्न पाइने भएकाले राम्रो मूल्य पाउने गरेको उनीहरूले बताएका छन् । अनधिकृत रूपमा विभिन्न बाटो प्रयोग गरेर अबैध रूपमा नेपाल खसी भित्रिरहेको बताउँदै बाख्रापालक व्यवसायीहरूले यसमा कडाइ गर्न माग गरेका छन् । अवैध रूपमा नेपाल भित्रिने पशुहरूलाई कडाइ नगर्ने तर यहाँ उत्पादन गरिएका पशुहरू जिल्ला बाहिर ओसारपोसार गर्दा कृषकहरूलाई दुःख दिने काम गर्ने गरिएको उनीहरूले बताए ।
नेपालगन्जको जमुनाह नाकाबाट बर्सेनि सयौंको संख्यामा नेपाल भित्रिने खसीबोकाको आयात शून्यमा झरेको छ । एक वर्ष अघि पशु क्वारेन्टाइन नीतिमा कडाइ गरिएपछि आयात ठप्प भएको पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जले जनाएको छ । आधिकारिक रूपमा यो अवधिमा कुनै पनि खसीबोका नाकाबाट नभित्रिएको कार्यालयले जनाएको छ । भारतबाट खसीबोका तथा पशुपंक्षीजन्य उत्पादन नेपाल भिœयाउँदा भारतीय क्वारेन्टाइनले २१ दिनसम्म राखेर पशुको स्वास्थ्य अवस्था जाँच गर्ने र स्वस्थ भए नभएको जाँच गरेर मात्र नेपाल पठाउने गरेको जनाएको छ । झन्झटिलो प्रक्रिया र लामो समय लाग्ने भएका कारण पशु आयात शून्य रहेको पशु क्वारेन्टन कार्यालयको भनाइ छ ।
नेपालगन्ज क्वारेन्टाइनमा पनि शंका लागेका पशुहरूलाई २१ दिन राखेर चेक जाँच गर्ने गरिएको छ । कार्यालयका अनुसार आर्थिक वर्षमा ७५/७६ मा ६९ हजार ३ सय ३८ वटा खसीबोका नाकाबाट नेपाल भित्रिएका थिए । तर ०७५ फागुनदेखि क्वारेन्टाइन प्रक्रियामा कडाइ गरिएपछि आयात शून्यमा झरेको कार्यालयले जनाएको छ । यहाँका बाख्रापालक व्यवसायीलाई प्रोत्साहन गर्नका लागि र अवैध पैठारी रोक्न प्रहरी गस्ती टोली सीमामा सक्रिय बनाइएको कार्यलयको भनाइ छ ।
महिलाहरूले बाख्रापालनसँगै स्वस्थ बाख्रा कसरी उत्पादन गर्ने भन्नेमा समेत ध्यान दिन थालेका छन् । स्वस्थ पशुपालनका लागि पशु चिकित्सक, भेटरीनरी, औषधिलगायतका सामग्रीको व्यवस्था गरिएको गाँउपालिकाले जनाएको छ ।
बाख्रापालक कृषकहरूको सहजताका लागि राप्तीसोनारीको ढकेरीमा सामाजिक उद्यमी जिल्ला सहकारी संघले बाख्राखोर निर्माण गरेको छ । कृषक महिलाहरूले आफूले बेच्न चाहेको समयमा यो सहकारीमा बाख्रा बेच्छन् । यहाँ उत्पादित बाख्राहरू नेपालगन्ज, दाङ, काठमाडांै, पोखरालगायतका ठाउँसम्म पुग्ने गरेको छ ।
बाँकेको राप्तीसोनारी गाँउपालिकामा बाख्रापालनका लागि राम्रो सम्भावना रहेकाले किसानको जीवनस्तर सुधारका लागि उनीहरू लक्षित बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेल बताउँछन् ।
आर्थिक वर्ष २०७८/०७९ मा पशु सेवाका लागि पालिकाले ६७ लाख विनियोजन गरेको छ भने कृषिका लागि ७८ लाख ७५ हजार विनियोजना गरेको अध्यक्ष पौडेलले जानकारी दिए ।
पौडेल बाख्रा पालनबाट राप्ती सोनारी आत्मनिर्भरको बाटोमा हिँड्न सक्ने बताउँछन् । उनी भन्छन्, ॅराप्ती सोनारी गाउँपालिका कृषि र पशु पालनको प्रवल सम्भावना बोकेको गाउँपालिका हो । यसबाट हामीले ठूलो पुँजी भित्र्याउन सक्छौं ।’
अध्यक्ष पौडेल आर्थिक वषै २०७९/०८० मा पालिकाले कृषि तथा पशुपालनमा ध्यान केन्द्रीत गर्ने जनाए ।
राप्ती सोनारीका किसानले पशु पालनमा चासो बढाउँदै गर्दा पालिकाले पशु शाखाका लागि किन कम बजेट छुट्याउने गरेको छ भन्ने कालपृष्ठकर्मीको प्रश्नमा पौडेल भन्छन्,ॅहो, यो एकदमै सही हो । राप्ती सोनारीले पशुपालक किसानका लागि अपेक्षकृत बजेट दिन सकेको छैन । हिजोका दिनमा किसानहरुका लागि प्रभावकारी योजनाहरु नआएको स्वभाविक नै हो । मैले पनि विषयगत शाखासँग बस्ने क्रममा उहाँहरुले पनि यो गुनासो गर्नु भएको छ । अब यो पटक हाम्रो पहिलो प्राथमिकता पूर्वाधार सँगसँगै कृषि, शिक्षा र पशुपालन पनि हुनेछ ।’