कांग्रेस पार्टी कार्यालयमा लागेको ताला खुल्यो
Sunday, June 12th, 2022, 11:33 am
Kalpristha
नेपालगन्जमा रहेको नेपाली कांग्रेस पार्टी कार्यालयमा लगाइएको ताला आज खोलिएको छ । कांग्रेसका केही असन्तुष्ट पक्षले जेठ १८ गते विभिन्न माग राख्दै बन्द गरेको ताला शनिबार सहमति भएपछि आइतबार खोलिएको हो ।
असअघि पार्टी सभापति नारायण प्रसाद गौडेलले कार्यसमितिको बहुमतको निणर्य बिना पार्टीको विधान विपरित कोषाध्यक्ष, जिल्ला सदस्य, कार्यसम्पादन समिति र जिल्ला संसदिय समिति गठन गरेको आरोप लगाउँदै पार्टी कार्यालयमा तालाबन्दी गरिएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् संविधान सभा सदस्य बादशाह कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिध राजकुमार बर्मा, निरञ्जन सिंह सिंजापति, नेपाली कांग्रेस बाँके सचिव सन्जु चौधरी, सह सचिव बिनोद थारु, सदस्य अशोक श्रेष्ठ लगायतको टोलीले तालाबन्दी गरेको थिए ।
नेपाली कांग्रेसको विधान २०१७ संशोधित सहित २०७६ अनुरुप गर्नु पर्ने कार्य समयमै गरी पुणर्ता दिनु पर्नेमा सभापति गौडेलले आफू अनुकुलका व्यक्तिहरुको सल्लाहमा कार्यसमितिको बैठकमा बहुमतले पारित नगरेको अवस्थामा उक्त निणर्य गरेको भन्दै असन्तुष्ट पक्षले बिरोध गरेको थिए ।
जिल्ला कार्यालयमा लगाइएको तालाको विषयमा असन्तुष्ट पक्षले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका विषयहरु नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा विचाराधिन रहेको र यस विषयमा केन्द्रले गर्ने निणर्यमा दुवै पक्ष सहमत भएका छन् ।
कांग्रेस कार्यालयमा लगाइएको तालाका विषयमा निकास निकाल्न केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीको उपस्थितिमा बसेको बैठकबाट सहमती निकालेर ताला खोलिएको जिल्ला सचिव सुधान्सु कोइरालाले जानकारी दिए ।
आगामी दिनमा पार्टीलाई विधि विधान र पद्धति बमोजिम सबैको सम्मान हुनेगरी सञ्चालन गर्ने गरी दुवै पक्ष सहमत भई पार्टी कार्यालयमा लगाइएको ताला खोल्ने सहमति गरिएको छ । सो सम्बन्धमा दुवै पक्षले केन्द्रमा आवश्यक पहल गर्ने पनि निणर्य गरिएको छ । पार्टी कार्यालयलाई विधान बमोजिम नियमित रुपमा सञ्चालन गर्नका लागि पार्टी कार्यालय नियमित रुपमा सञ्चालन हुन आवश्यक रहेकाले ताला खोल्नुपर्नेमा दुवै पक्ष सहमत भएका हुन् ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य बाल्मिकी तथा जिल्ला सभापति नारायणप्रसाद गौडेल, सचिव कोइराला र क्षेत्र नम्बर १ का सभापति पोषण केसी, असन्तुष्ट पक्षका तर्फबाट महासमिति सदस्य बादशाह कुर्मी, क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ, महासमिति सदस्य फुलाराम थारु, महाधिवेशन प्रतिनिधी सुदिपनरसिंह राणा र जिल्ला सदस्य अशोक श्रेष्ठले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।