फरार प्रतिवादी पक्राउ
Wednesday, June 22nd, 2022, 8:43 pm
Kalpristha
जिल्ला प्रहरी कार्यालय बाँकेले छुट्टाछुट्टै मुद्दाका फरार दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेले हातहतियार तथा खरखजाना मुद्दा र लेनदेन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेले हातहतियार तथा खरखजाना मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैद सजाय सुनाएका डुडुवा गाउँपालिका वडा नम्बर ६ का ४५ वर्षीय पहलमान पासीलाई जिल्ला प्रहरी बाँकेको टोलीले शनिबार पक्राउ गरेको हो ।
जिल्ला अदालत बाँकेबाट २०७२ कात्तिक १ गतेको फैसलाबाट दोषी ठहर भएर जेल सजाय सुनाइएका लामो समयदेखि फरार रहँदै आएका पासीलाई नेपाल भारत सिमा नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।
त्यस्तै बाँके प्रहरीले लेनदेन मुद्दाका अर्का एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेबाट २०७९ जेठ ५ गते राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का ४८ वर्षीय लुराम थारुलाई लेनदेन मुद्दामा दोषी ठहर गर्दै १ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।
जेल सजायको फैसला आएता पनि फरार रहँदै आएका थारुलाई आइतबार बिहान बाँकेबाट प्रहरीले पक्राउ गरेको हो ।
हातहतियार तथा खरखजाना र लेनदेन मुद्दाका फरार प्रतिवादी पासी र थारुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।