वडा कार्यालयको सिफारिसमा सीमाबाट मल ल्याउन अनुमति
Wednesday, June 22nd, 2022, 8:47 pm
Kalpristha
दाङमा वडा कार्यालय, कृषि सहकारीको सिफारिसका आधारमा कृषकलाई चाहिने मल लिएर खेतबारीमा प्रयोग गर्न दिने गरी व्यवहारिक अनुमति दिइएको छ । नागरिक समाज दाङले मलखादको सहज आपूर्तिका लागि सहजीकरण गरिदिन र वर्षायाम लागेकाले विपदजन्य घटना न्यूनीकरणका लागि सतर्कता अपाउन स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएपछि सिमावर्ती क्षेत्रबाट आवश्यक पर्ने मलखाद ल्याउन दिने व्यवहारिक अनुमति दिइएको हो ।
खेतीपातीको मौसम शुरु भईसकेकाले कृषकले मलखाद अभावमा वर्षेबाली लगाउन नसक्ने अवस्था हुन नदिन मलखादको व्यवस्थाका लागि पहल गर्न माग गरेको हो । समाजका संयोजक केबी मसालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले खेतीपातीको सिजन शुरु भई सक्दा पनि कृषकले मल, बीउ लगायत कृषि सम्बन्धी अत्यावश्यक सामग्री नपाई रहेको हुँदा कृषि सम्बन्धी सबै प्रकारका सामग्री छिमेकी मुलुक भारतबाट आवश्यकताका आधारमा ल्याउन दिने वातावरण मिलाउन विशेष आग्रह गरेको छ ।
मसालका अनुसार मलखाद र बीउबीजनको अभावका खेतीपाती गर्न असम्भव रहेकाले कृषकको पीडालाई बुझेर वडा कार्यालय वा सहकारी संस्थाको सिफारिसलाई आधार मानेर सिमावर्ती क्षेत्रबाट आवश्यक पर्ने मलखाद ल्याउन दिने व्यवहारिक अनुमति दिइएको छ । तर, यसको दुरुपयोग नहोस् भन्नका लागि प्रहरी प्रशासन र स्थानीय तहमार्फत अनुगमन गर्न पनि अपिल गरिएको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजाल, पूर्व संयोजक चन्द्रराज पन्त, सदस्य पद्मप्रसाद शर्मा, नागरिक अगुवाहरु श्रीमन न्यौपाने, बसन्तराज भट्टलगायत उपस्थित रहेको थियो ।