भारतीय जंगलमा नेपाली माथि गोली प्रहार
Friday, July 1st, 2022, 7:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, १७ असार
भारतीय वनरक्षकले चलाएको गोलीबाट बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ३ स्थित बनकट्टीका ५४ वर्षिय हेमराज गोडियाको मृत्यु भएको छ । उनको बिहिबार मृत्यु भएको परिवारले जनाएको छ । बर्दिया अस्पतालमा उपचारको क्रममा बिहीबार राति ११ बजे मृत्यु भएको हो ।
नेपाल–भारत सिमाना नजिकै पर्ने मुर्तिहा जंगलमा निउरो टिप्न गएका गोडियामाथि गोली प्रहार भएको उनको परिवारले जनाएको छ । गोडियाको परिवारले भारतीय वन रक्षकले गोली प्रहार गरेको बताए ।
भारतीय जंगलमा आफुमाथि गोली प्रहार भई घाईते भएको गोडियाले आफ्नो परिवारलाई फोन मार्फत बताएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी सुर्य प्रकाश सुवेदीले बताए ।
‘गोली लागेर गम्भिर घाईते भएका गोडिया भारतीय मुर्तिहा जंगलबाट आफ्नो खेत नेपालमा आएका थिए’ डिएसपी सुवेदीले भने,‘घाईते गोडियालाई छोराले घरमा ल्यासकेपछि उपचारका लागि एम्बुलेन्स बोलाई बर्दिया अस्पतालमा पु¥याएका थिए ।’
मृतक गोडियाको दायाँ घुँडामाथि घाउ देखिएको डिएसपी सुवेदीले जानकारी दिए ।
पोष्टमार्टमपछि गोडियाको शव परिवारले बुझेको छ । गोडिया माथि गोली कसले चलाएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।