स्वतन्त्रबाट निर्वाचित उपाध्यक्ष एमालेमा प्रवेश
Saturday, July 2nd, 2022, 3:42 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, १८ असार
डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका उपाध्यक्षमा स्वतन्त्रबाट निर्वाचित पेम्मा वाङछेन गुरुङ नेकपा एमालेमा प्रवेश गरेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित उपाध्यक्ष गुरुङ पुनः नेकपा एमालेमा फर्केका हुन् ।
२०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा नम्बर ४ को वडाअध्यक्षमा निर्विरोध निर्वाचित गुरुङ गत २०७९ वैशाख ३० मा गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका थिए ।
गत वैशाख ३० मा स्वतन्त्र उम्मेदवार गुरुङले नेकपा माओवादी केन्द्रकी उम्मेदवारलाई ८२ प्रतिशत मतले पराजित गरेका थिए । गुरुङ स्वतन्त्र उम्मेदवार बन्नुभन्दा पहिला नेकपा एमाले जिल्ला कमिटी सदस्य, शे-फोक्सुण्डो गाउँकमिटी अध्यक्ष रहेका थिए ।
उपाध्यक्ष गुरुङलाई स्वागत गर्दै पार्टीको सम्पूणर् जिम्मेवारी पुरानै कायम गरिने नेकपा एमाले डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले जानकारी दिए ।
औपचारिक पार्टी पर्वेश गर्दै आफू आफ्नै घरमा फर्केको उपाध्यक्ष गुरुङले बताए ।