१ सय २ प्रतिशत बालबालिकाले लगाए कोरोनाको खोप
Saturday, July 2nd, 2022, 7:53 pm
Kalpristha
बाँकेमा लक्ष्यभन्दा बढी बालबालिकाले कोरानाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार बाँकेका १ सय २ प्रतिशत बालबालिकाले खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालय यसअघि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई शतप्रतिशत फाइजर खोप लगाउने अभियान सुरु गरेको थियो । ९ देखि १५ गतेसम्म सञ्चालन भएको उक्त अभियानमा बाँकेमा ७६ हजार २ सय ३९ जना लक्षित समूह रहेका बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो । जसमा ७८ हजार २६ बालबालिकाले खोप लगाएको श्रेष्ठले बताए ।
स्वास्थ्य कार्यालयले लक्ष्यअनुसार सबैभन्दा बढी खोप कोहलपुर नगरपालिकामा लगाएको छ । कोहलपुरमा १० हजार ३ सय ९१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएकोमा १६ हजार ८ सय ५३ जनालाई खोप लगाइएको छ ।
त्यस्तै लक्ष्यअनुसार सबैभन्दा कम जानकी गाउँपालिकामा खोप लगाइएको छ । जानकीमा ६ हजार ३ सय ७२ जना बालबालिकामा खोप लगाउने लक्ष्य लिइएको थियो । जसमा ४ हजार २ सय ७१ जनालाई मात्र खोप लगाइएको छ ।
त्यस्तै गरी नेपालगन्ज उप-महानगरपालिकाको २० हजार २ सय ३१ लक्ष्यमा १९ हजार २ सय ५५, राप्ती सोनारी गाउँपालिकाको ९ हजार ३ सय ५७ लक्ष्यमा ७ हजार ४ सय ४८, बैजनाथ गाउँपालिकाको ८ हजार ३ सय ४५ लक्ष्यमा ९ हजार ६ सय ३३ बालबालिकालाई खोप लगाइएको श्रेष्ठले बताए ।
त्यस्तै गरी खजुरा गाउँपालिकाको ८ हजार २ सय २४ लक्ष्यमा ८ हजार ३ सय ५८, डुडुवा गाउँपालिकाको ६ हजार ९ सय ८८ लक्ष्यमा ५ हजार १ सय १२ र नरैनापुर गाउँपालिकाको ६ हजार ३ सय ३२ लक्ष्यमा ४ हजार ५ सय ७४ जना बालबालिकालाई खोप लगाइएको छ ।
स्वास्थ्य कार्यालयले उक्त खोप लगाउनका लागि बाँकेका ८१ वटा वडामा ५ सय ८ खोप केन्द्र तय गरेको थियो भने ७ सय ३१ खोप सेसन संचालन गरेको थियो । श्रेष्ठका अनुसार बालबालिकालाई खोप लगाउनका लागि अधिकतम महिला स्वयम्सेविका परिचालन गरिएको थियो ।
स्वास्थ्य कार्यालय पुनः बाँके जिल्लाका ८१ वटै वडाका १८ वर्षमाथिका नागरिकलाई असार २० गतेदेखि खोप लगाउने अभियान संचालन गर्दैछ ।