बरामद गरिएको दाना परीक्षणका लागि पठाइयो
Thursday, July 7th, 2022, 8:52 pm
Kalpristha
भारतीय कन्टेनरमा बरामद गरिएको दाना परीक्षणका लागि काठमाडौं पठाइएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेले नेपालगन्जको प्रयोगशालाले अफिमको बियाँ उम्रिने वा नउम्रिने खालको भन्नेबारे पत्ता लगाउन नसकेपछि काठमाडौं पठाइएको बताए ।
प्रयोगशालाको रिपोर्ट आउँदै गर्दा भारतीय गाडीको मालिक र चालकलाई भने पत्राचार गर्ने तयारी भन्सार कार्यालयले गरेको छ ।
उक्त सामान नेपालगन्ज भन्सार नजिकैबाट प्रहरीले गत शुक्रबार नियन्त्रणमा लिएको थियो । कन्टेनरमा भेटिएको वस्तु नेपालमा प्रतिबन्धित नभएको भन्सार अधिकारीले बताएका छन् ।
नेपाल–भारत सीमा नजिकै भन्सार चेकिङ पोस्टबाट भारतीय नम्बर रहेको आरजे–०९ जिबी–४५४२ नम्बरको कन्टेनरका चालक र सह–चालक भागेपछि घटना सार्वजनिक भएको थियो । उक्त कन्टेनरका प्रहरी र भन्सार अधिकारीले चेकिङ गर्नुअघि फरार भएका थिए । त्यसपछि उक्त कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा उक्त कन्टेनरमा तुर्कमिनिस्तामा उत्पादन भएको ‘ह्वाइट पोप्पी सिड’ २५० बोरा फेला परेको थियो । जुन वस्तु नेपालले निश्चित मात्रामा आयत गर्न छुट रहेको नेपालगन्ज भन्सार कार्यालयका मुद्दा शाखाका सुब्बा जीवन सुनुवारले बताए ।
भन्सार अधिकारीका अनुसार कन्टेनरमा भेटिएको ‘ह्वाइट पोप्पी सिड’ अफिमको विउको रुपमा प्रयोग गरिन्छ । यसका साथै मिठाई र मासुको परिकार लगायतमा पनि यसको प्रयोग हुने गरिन्छ ।