बाल सुधार गृहमा योग शिविर संचालन
Saturday, July 9th, 2022, 2:26 pm
Kalpristha
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा रहेको जयेन्दु बाल सुधार गृहमा योग शिविर सुरु संचालन गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रिजन फाउण्डेसनको सहयोग, जयेन्दु बाल सुधार गृहको समन्वयमा द आर्ट अफ लिभिङ नेपालगन्जले पाँचदिने नव चेतना शिविर सञ्चालन गरेको हो ।
१९ जेठ २०७९ मा द आर्ट अफ लिभिङले जयेन्दु बाल सुधार गृहमा आयोजना गरेको ‘डिभाइन सेसन विथ स्वामीजी’ विषयक कार्यक्रममा भारतको बैंग्लोर आश्रमबाट आएका स्वामी पूणर्तेज र द आर्ट अफ लिभिङ नेपालकी कन्ट्री को-अर्डिनेटर मिखा माथेमाले योग शिविर आयोजना गर्ने प्रतिबद्धता जनाए अनुसार नै नव चेतना शिविर सञ्चालन गरिएको हो ।
आर्ट अफ लिभिङका स्वयंसेवकद्वय शंकरप्रसाद खनाल र सुधीर गौतमले शिविरमा सहजीकरण गरिरहेका छन् । शिविरमा योग, ध्यान, प्राणायाम, अध्यात्मिक ज्ञान, मनोरञ्जनमूलक खेल, सत्सङ, सेवाका कार्यक्रमहरु सञ्चालन हुनेछन् ।
सुधार केन्द्रकी इन्चार्ज विमला काउचाले बाल सुधार गृहमा बसेका बालकलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न योग शिविर सञ्चालन गरिएको बताइन् ।
शिविरमा १२-१८ वर्ष उमेर समूहका ६८ जना बालकहरु सहभागिता रहेको छ ।