प्रेस युनियनको अध्यक्षमा आधा दर्जन बढीको दाबी
Saturday, July 9th, 2022, 5:06 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, २५ असार
नेपाल प्रेस युनियनको आसन्न ९औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारीका लागि आधा दर्जनभन्दा बढीले दाबी गरेका छन् । जसमा शिल लम्साल, दीपक आचार्य, अनिता विन्दु, सरोज अधिकारी, रामप्रसाद दाहाल, सन्तोष न्यौपाने, भुवन भट्ट, उमिद वागचन्द, दामोदर दवाडीलगायत रहेका छन् ।
दावी गर्नेमध्ये संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गरेकी अनिता विन्दु पत्रकार महासंघको पूर्वउपाध्यक्ष र युनियनको पूर्वउपाध्यक्षसमेत हुन् । त्यस्तै सरोज अधिकारी युनियनको वर्तमान कोषाध्यक्ष हुन् ।
संस्थापनइतरबाट वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र पूर्व महासचिव शिव लम्सालको दाबी रहेको छ । यस्तै अध्यक्षमा आकांक्षा राख्ने सन्तोष न्यौपाने प्रेस युनियनका पूर्वसचिव हुन् ।
पत्रकार महासंघको निर्वाचनमा अध्यक्षको दाबीबाट पछि हटेका रामप्रसाद दाहाल पनि युनियनको अध्यक्षको आकांक्षी हुन् । उनी पार्टीभित्रको कुनै समूहमा भने देखिएका छैनन् ।
वरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल, निरज खतिवडा लगायतले प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । उपाध्यक्षमा दिलिपाश्री अधिकारी, सलोजा दाहाल, ऋषिकान्त पौडेल, कल्पना शर्मा, जनार्दन घिमिरेलगायतले दाबी गरेका छन् ।
कार्यवाहक महासचिव भीष्मराज ओझा, सचिव खिला कार्कीले महासचिवको उम्मेदवारी घोषणा गरेका छन् भने केन्द्रीय सदस्यद्वय दिलिप पौडेल, रमेश वाग्ले, शिवराज योगीले महासचिवको उम्मेदवारको आकांक्षा देखाएका छन् ।
महासचिवको उम्मेदवारी घोषणा गर्नेमा काठमाडौं शाखाका पूर्वअध्यक्ष नकुल अर्याल, कञ्चनपुर शाखाका पूर्वसचिव केशव साउद, विमल ज्ञवालीलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।
उपमहासचिवमा चारजनाले उम्मेदवारी घोषणा गरेका छन् । सुलोचना गौतम, युवराज गौतम, भुवन शर्मा, कुसुम बिक (सेन्चुरी) उक्त पदका लागि दाबी गरेका छन् । माधव धिताल, मित्र भण्डारी, पदम जोशीलगायतले कोषाध्यक्षको उम्मेदवारी घोषणा गरी प्रचारमा लागेका छन् ।
सचिवमा खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, मेनुका ढुंगाना, राधा खनाल, विजय रेग्मी, कालिका महत, एलपी देवकोटा, टिकाराम सुनारलगायतले दाबी गरेका छन् । युनियनको महाधिवेशनका लागि सहजीकरण गर्नका लागि पार्टीले प्रवक्ता डा. प्रकाशशरण महतलाई जिम्मेवारी दिएको छ ।
यसअघि नयाँ कार्यसमिति सर्वसहमत बनाउनका लागि बिहीबार महतले अध्यक्षका प्रत्यासीसँग छलफल राखेका थियो ।
युनियनको ९औं महाधिवेशन साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुनेगरी समय तोकिएको छ । तीन वर्षे कार्यकाल हुने युनियनमा वर्तमान कार्यसमितिले आठ वर्ष विताएको छ । २०७१ भदौमा ८ औं महाधिवेशन भएको थियो । महाधिवेशनका लागि मनोनितबाहेकका एक हजार ६२० प्रतिनिधि चयन भएका छन् ।