नेपालगन्जमा मधुमेहको छुट्टै उपचार गरिने
Monday, July 11th, 2022, 4:09 pm
Kalpristha
अब बाँकेको नेपालगन्जमा मधुमेहका बिरामीलाई छुट्टै उपचार गरिने भएको छ । जसका लागि नेपालगन्जमा छुट्टै अस्पताल खुलेको छ ।
सोमबार स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले लायन्स डेन्टल अस्पताल परिसरमा खुलेको लायन रामनारायण मधुमेह सेवा केन्द्रको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा मधुमेहका बिरामी बढ्दै गएपछि उनीहरुलाई लक्षित गरेर छुट्टै अस्पताल स्थापना गरिनु उपलब्धीपूणर् रहेको मन्त्री केसीले बताए । उनले लायन रामनारायणले अस्पताल निर्माणका लागि पुर्याएको योगदानको उच्च प्रशंसा गरे ।
कार्यक्रममा नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले अस्पताल संचालनमा आउनु सुखद कुरा भएको भन्दै उपमहानगरबाट हुन सक्ने आवश्यक सहयोगको प्रतिबद्धता जनाए ।
.
लायन्स पूर्व डिष्ट्रिक गभर्नर शेम शाक्यका अनुसार करिब २० लाखको लागतमा मधुमेह सेवा केन्द्र निर्माण गरिएको हो । जसमा लायन रामनारायणको परिवारबाट ११ लाख ३९ हजार, लायन्स क्लब अफ नेपालगन्जबाट १ लाख ८० हजार, यज्ञप्रताप राणाले १ लाख ६० हजार, हरि प्रसाइँ र श्याम शर्माले एक एक लाख र मुरली शर्माले २१ हजार सहयोग गरेका छन् ।
स्वास्थ्यकर्मी समेत रहेका लायन शाक्यले केन्द्रबाट बजारमा गरिने परीक्षण भन्दा ५० प्रतिशत कम शुल्कमा रक्त परीक्षण गर्ने जानकारी दिए । सेवा केन्द्रबाट लिभर, किड्नीको फङ्सन परीक्षण पनि हुने जनाइएको छ । केन्द्रमा २ जना कन्स्लटेन्ट चिकित्सकले सेवा दिनेछन् ।
पछिल्लो समय परिर्वतित जीवनशैलीका कारण लाखौँ मानिसहरुमा मधुमेहको समस्या बढी देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।