सिटिईभिटिले सिप परीक्षण प्रमाणिकरण गर्दै
Monday, July 11th, 2022, 4:11 pm
Kalpristha
सिटिईभिटिले सबै व्यक्तिहरुले सिकेका सिप परीक्षण गरेर प्रमाणिकरण गर्ने भएको छ । मान्यता प्राप्त संस्था वा अन्य कुनै पनि संघ-संस्था वा वैदेशिक रोजगारीका क्रममा सिकेका सिपहरुको सिटिईभिटिले परीक्षण गरी त्यसको लेबलका आधारमा प्रमाणिकरण गर्ने भएको हो ।
अब कूनै गाडी ग्यारेजमा कूनै व्यक्तिले सिकेको सिप होस् वा कूनै व्यक्तिबाट सिकेको सिप होस, सो सिपको प्रमाणिकरण गरेर सिटिईभिटि वा सिटिईभिटिबाट मान्यता प्राप्त संघ-संस्थाले उक्त व्यक्तिलाई उसको क्षमताअनुसारको प्रमाणपत्र दिने योजना नेपाल सरकारले सुरुवात गरेको हो ।
सोमबार सरोकारवालासँग नेपालगन्जमा नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाअन्तर्गत राष्ट्रिय व्यावसायिक योग्यता प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिएको छ । जसमा सिटिईभिटिका निर्देशक केशवशर्मा घिमिरेले कुनै पनि व्यक्तिले कुनै पनि माध्यामबाट सिकेको सिपलाई उसको योग्यताका आधारमा १ तहदेखि ४ तहसम्मको प्रमाणिकरण गर्ने योजना सुरु भएको बताए ।
उनले भने, ‘कसैले पढेर सिक्छ भने कसैरे गरेर सिकेको हुन्छ । त्यस्ता व्यक्तिहरुलाई उनीहरुको कामको अनुवभ, उनीहरुले लिएको तालिम वा उनीहरुको अध्ययनलाई मध्यनगर गरेर १ लेबलदेखि ४ लेबलसम्मको प्रमाणिकरण गर्न सकिन्छ । यसबाट प्राविधिक जनशक्तिको उत्पादन हुने र मान्यता प्राप्त संस्था बाहेकबाट पनि सिप सिकेको छ भने उसले आफ्नो योग्यताअनुसारको प्रमाण पत्र पाउछ ।’
निर्देशक घिमिरेका अनुसार हाल बाँके र बर्दियाका लागि सिप परीक्षण प्रमाणिकरण नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १० मा रहेको भेरी प्राविधिक शिक्षालयले गर्ने गर्छ । सो बाहेक बाँके र बर्दियामा अरु संस्थाले सिप प्रमाणिकरण गर्न पाउने प्रावधान रहेको छैन ।
उक्त कार्यक्रममा कुनै पनि व्यक्तिलाई सकेसम्म लामो समयको व्यावसायिक तालिम दिनुपर्नेमा जोड दिइएको थियो ।
आवश्यकताका आधारमा तालिम दिनुपर्नेमा जोड
कार्यक्रममा बाँके जिल्लाका विभिन्न स्थानीय निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उनीहरुले विभिन्न गैरसरकारी संघ-संस्थाले आफू खुसी तालिम संचालन गर्ने गरेको बताए ।
खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ले कतिपय संस्थाले पालिकासँग स्वीकृति नलिई आफूखसी बजेट सक्काउने हिसाबले तालिम संचालन गर्ने गरेको बताए ।
कार्यक्रममा तालिममात्र नभई कुन समुदायमा कस्तो प्रकारको तालिम संचालन गर्नु पर्नेहो सोही किसिमको तालिम संचालन गर्नु पर्ने उपस्थित सहभागीले बताए ।
साथै कार्यक्रममा उपस्थित पत्रकारसमेतले सिप परीक्षणका गरी प्रमाणिकरण गर्ने योजनालाई स्थानीय निकायसँग जोडेर लैजाँदा प्रभवकारी रहने बताए ।
कार्यक्रममा सिटिईभिटिले सिप प्रमाणिकरणसम्बन्धी सूचना हरेक वर्ष गोरखापत्र राष्ट्रिय दैनिकमा साउन २१ गते, मंसिर १८ गते र चैत १६ गते प्रकाशन गर्ने गरेको जनाइयो ।
हाल नेपालमा ६१ वटा क्षमता परीक्षण केन्द्र रहेका छन् भने ६ हजार ५ सय ७४ मूल्यांकन कर्ता रहेको छन् ।