सातौंपटक खानेपानीको अध्यक्षमा ‘पानी बाजे’
Monday, July 11th, 2022, 8:27 pm
Kalpristha
दाङको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा सातौंपटक ‘पानी बाजे’को उपमा पाएका देवीबहादुर डिसी निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा गठबन्धनका उम्मेदवार डिसीले २ हजार २ सय ९४ मत प्राप्त गरी संस्थाको अध्यक्षमा सातौँपटक निर्वाचित भए ।
डिसीले आफ्ना प्रतिष्प्रर्धी संयुक्त प्यानलका उम्मेदवार नारायणप्रसाद भुसाललाई १ हजार २ सय ९ मतले पराजित गरेका हुन् ।
घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको स्थापनाकालदेखि आवद्ध भएका डिसीले लोकप्रिय मत पाएका हुन् ।
अध्यक्ष डिसीसहित गठबन्धन प्यानलबाट वरिष्ठ उपाध्यक्षमा भरतमणि पाण्डेय, उपाध्यक्ष हेमन्ती पुन मगर, सचिवमा धर्मेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा धु्रव केसी विजयी भएका छन् । कोषाध्यक्षमा केसी दोश्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् ।
त्यस्तै सदस्यहरुमा पनि गठबन्धन प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् । जसमा गठबन्धनका उम्मेदवार किशोर आचार्य, युवराज आचार्य र दिनेश वली विजयी भए ।
संस्थाको महिला सदस्यमा गठबन्धनका उम्मेदवार खुमाकुमारी खड्का, बिन्दु पाण्डे र यशोदादेवी पाण्डे बिजयी भएकी छिन् ।
निर्वाचनमा गठबन्धन प्यानललाई नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समितिको समर्थन रहेको थियो भने संयुक्त प्यानललाई नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतको समर्थन रहेको थियो ।