मन्त्री राईलाई नेपालगन्जले गर्यो सम्मान
Tuesday, July 12th, 2022, 1:34 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई सम्मान गरेको छ । मंगलबार उप-महानगरपालिकाले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेर मन्त्री राईलाई सम्मान गरेको हो ।
नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दीन राई, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीलगायतले मन्त्री राईलाई स्वागत तथा सम्मान गरेका हुन् ।
मन्त्री राईले आफ्नो कार्यकाल छोटो भए पनि नेपालगन्जको मुहार फरिने गरी काम गर्ने बताए । दुईवटा ठुला योजना केही दिनमै सार्वजनिक गर्ने प्रतिवद्धता ब्यक्त गर्दै उनले यसले दीर्घकालीन फाइदा पुग्ने बताए ।
मन्त्रालय मातहत विभिन्न विकास निर्माणका काम भईरहेको भन्दै राईले मन्त्रीको गृह जिल्ला भएकाले उच्च प्राथमिकतामा पर्ने बताए । उनले अन्य मन्त्रालयसँग समेत समन्वय र सहकार्यमा काम अघि बढाउने बताए ।

,
नगर प्रमुख विष्टले राईको कार्यकालमा नेपालगन्जले लाभ पाउने बिश्वास ब्यक्त गरे । विष्टले छोटो समयावधीमा पनि मन्त्री राईले नेपालगन्ज र बाँके जिल्लाका लागि दीर्घकालीन महत्व राख्ने योजना पर्ने आशा र अपेक्षा राखिएको बताए ।
उपप्रमुख कमरुद्दीनले मन्त्री राईको कार्यकालमा नेपालगन्जले विकासको थप फड्को मार्ने भन्दै यहाँ चक्रपथ निर्माणका लागि ध्यान दिन आग्रह गरे ।
राई बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसदसमेत हुन् ।