नेपाली भाषा साहित्यका सागर : भानुभक्त आचार्य
Wednesday, July 13th, 2022, 12:47 pm
Kalpristha
त्यति बेला तुच्छ मानिने नेपाली भाषामा संस्कृत भाषाको रामायणलाई अनुवाद गर्नु चानचुने कुरो थिएन । यस अर्थमा पनि उनको हिम्मत, साहस र नेपाली भाषा साहित्य प्रतिको प्रेमलाई जति प्रशंसा गरे पनि कमै हुन्छ भन्दा फरक नपर्ला ।

शोभा गुरुङ्ग
‘एक दिन नारद सत्यलोक पुगि गया, लोकको गरुँ हित् भनि ।
ब्रह्मा ताहि थियाँ परयाँ चरणमा, खुशि गरायाँ पनि ।।
क्या सोध्छांै तिमी सोध भन्छु म भनि, मर्जी भएथ्यो जसैं ।
ब्रह्माको करुणा बुझेर ऋषिले, बिन्ती गर्या यो तसैं ।।’
यति सरल शब्द, र शैलीमा काव्यात्मक भाखामा जनजनले घरघरमा पढने यो रामायणको नेपाली अनुवादक आदिकवी भानुभक्त आर्चायलाई आजको दिनमा नसम्झिने नेपाली बिरलै मात्र होलान । बाबु धनन्जय र आमा धर्मावतीको कोखबाट वि.स. १८७१ असार २९ गते तनहुँको चुदी रम्घामा जन्मेका भानुभक्त सानैदेखि बाजे श्रीकृष्ण आर्चायको पछि लागेर नेपाल र भारतका थुप्रै ठाउँमा पुगेका थिए । श्री कृष्ण आचार्य संस्कृतका विद्धान पण्डित थिए । बाजेसँग बनारसमा बसि भानुभक्तले सामान्य विधा आर्जन गरेका भए पनि संस्कृत भाषामा लेखेका ठूला -ठूला रामायण, महाभारत, रामचरित मानस जस्ता धार्मिक पुस्तकहरु पढ्ने गर्थे र कतिपय संस्कृत पुस्तकका श्लोकहरु त उनी किताबै नहेरी मुखाआकार नै भन्दै हिँड्थे । बाजेकै संगतले साहित्य, धार्मिक पूजापाठ, कर्मकाण्ड सबैमा उनी पोख्त भए ।
त्यति बेला नेपाली भाषालाई कमसल, असभ्य र अशिक्षीत गाउँलेहरुले बोलिने भाषाको रुपमा लिइन्थ्यो । संस्कृत पढ्न सबैलाई छुट पनि थिएन । केहि सिमित ठूला उच्च घराना बाहेक सबै जनताहरु संस्कृत शिक्षाको पहुँचबाट टाढा थिए ।
भानुभक्त अध्ययन सकेर आएपछि त्यस बेलाको समय, परिवेश, समाज माथि थुप्रै कबिताहरु लेखे । कसैलाई केहि भन्नु छ भने, केहि समाचार दिनु छ भने उनी कविता कै माध्यमबाट दिने गर्दथे । एकपटक साथी तारापतिको घरमा बास बस्न पुग्दा रातभरी सासु बुहारीको झगडाले सुत्न नपाएका भानुभक्तले बिहान सबेरै उठि ॅबधुशिक्षा’ (वि.स.१०१९) उपदेशमूलक कविता लेखि तारापतिलाई छाडेर आएका थिए ।
‘धन ईज्जत र घरबार देख्छु बढिया, छैनन् कुनै चीज कमी ।
बुहारी यदि कर्कशा हुन गया, क्या घर गरौला तिमी ।।
साह्रै झोक उठ्यो र मलाई, बधुशिक्षा बनाया पनि
यसले पत्नि, बुहारी, छोरीहरुको, तालिम गरौंला भनी ।।’
‘बधुशिक्षा’ मा नारीलाई घरभित्रकै काम गर्ने, पतिलाई देउता समान मान्ने, सासु ससुरा, नन्द आमाजु, देवर, जेठाजुका अगाडि नम्र बोल्ने, उनीहरुको सेवा गर्ने, उनीहरुले खाई सकेपछि मात्र खाने, बिहान सबेरै उठ्ने, लिपपोत गरी स्नान गरी पूजा गर्ने, घरका सबै सदस्यहरुको ईच्छा, चाहना अनुसार व्यवहार गर्ने, पतिको मृत्युमा सति जाने, सौतालाई राम्रो व्यवहार गर्ने जस्ता नारीलाई एकदमै तल्लो दर्जाको रुपमा वणर्न गरिएको छ । त्यसैले ‘बधुशिक्षा’ पढनेहरुले भानुभक्तको आलोचना पनि गरेको पाइन्छ । बधुशिक्षा पढ्ने जो कोहिले भानुभक्तलाई मन नपराउन सक्छन् । आजभन्दा दुई शताब्दीभन्दा अघिको नेपाली समाजको सापेक्षता, यर्थाथता आजको समयसँग पक्कै पनि मेल खादैन तर भानुभक्तले त्यस बेलाको नेपाली समाज र समय यर्थाथलाई साहित्यको माध्यमबाट उजागर गर्नु पनि ठूलो काम हो । जसले गर्दा आज हामी, उनी र उनका थुप्रै कृतिहरुलाई सम्झि रहेका छौं ।
घरका सबै सदस्यहरुको ईच्छा, चाहना अनुसार व्यवहार गर्ने, पतिको मृत्युमा सति जाने, सौतालाई राम्रो व्यवहार गर्ने जस्ता नारीलाई एकदमै तल्लो दर्जाको रुपमा वणर्न गरिएको छ । त्यसैले ‘बधुशिक्षा’ पढनेहरुले भानुभक्तको आलोचना पनि गरेको पाइन्छ । बधुशिक्षा पढ्ने जो कोहिले भानुभक्तलाई मन नपराउन सक्छन् ।
भानुभक्तले साहित्य क्षेत्रमा त्यसबेलाको वस्तु यथार्त माथि कलम नचलाएका भए २०० वर्ष अघिको साहित्यिक ईतिहास आज हामी यसरी चर्चा गरी रहेका हुदैन्थ्यो होला ।
साहित्यकारले साहित्यको विविध पाटाबाट समाजलाई सन्देश दिई रहेको हुन्छ । भानुभक्तले पनि ॅप्रश्नोत्तर’ (वि.स.१९१०) को माध्यमबाट दिएको सन्देशलाई हामी नसम्झी रहन सक्दैनौं ।
‘कुन हो सबैले, गुरु भन्नु परन्या ?
जो हो हितैको, उपदेश गरन्या ।
कुन हो जति जति दियो, उती बढ्न जान्या ?
विध्यै रहेछ बुझि, निश्चय तेहि मान्या ।’
एउटा सामान्य घाँस काटेर जिविकोआर्जन गर्ने घाँसीसँगको कुराबाट आफू निकै चिन्तित भएको भाव यसरी प्रष्ट पारेका छन्
‘भर जन्म घाँस तिर मन दिई, धन कमायो
नाम क्यै रहोस पछि भनेर, कुवा खनायो ।
घाँसी दरिद्र घरको तर, बुद्धि कस्तो
म भानुभक्त धनी भैकन, किन यस्तो ।।
मेरा ईनार न त सत्तल, पाटीकै छन्
जे धन चीजहरु छन् घर, भित्रनै छन् ।
त्यस घाँसीले कसरी आज, दिएछ अर्ति
धिक्कार हो म कन वस्नु, न राखि किर्ती ।।’
त्यति बेला नेपाली भाषालाई हेरिने दृष्टि जस्तो भए पनि भानुभक्तले नेपाली साहित्य र संस्कृतिक चेतना, राष्ट्रिय पहिचान, समाज र चिन्तनसँग पैठेजोरी गर्दै गर्दा ३७ वर्षको उमेरमा सरकारी जागिर पाए । २ वर्षे जागिर पछि रकम हिनामिनाको आरोपमा उनी कुमारी चोकको खोरमा जाकिनु पर्यो ।
‘रोज रोज दर्शन पाउँछु चरणकोे, ताप छैन मनमा कछू
रातभर नाच पनि हेर्छु खर्च नगरी, ठूला चयनमा मछू
लामखुट्टे उपियाँ उडुस यी सँगी छन्, यिनकै लहईमा बसी
लामखुट्टेहरु गाउँछन्, यि उपियाँ नाच्छन्, म हेर्छु बसी ।’
थुनामा पर्दा कोरेका थुप्रै कविताहरु मध्ये यो कविता कैदि जीवनको वास्तविकता झल्काउँदै लेखेका कविताहरु मध्ये एक थियो । तर त्यहि खोर त्यहि बन्दी जीवननै उनको लागि वरदान सावित भयो । पाँच महिनासम्म जेलभित्र रहँदा उनले २५ हजार श्लोक भएको बाल्मिकीद्वारा लिखित संस्कृत भाषाको रामायणलाई १२ सय श्लोकमा नेपाली भाषामा सरल ढंगले सबैले वाचन गर्न सक्ने किसिमको काव्यात्मक शैलीमा रामायण तयार गरे । अहिले जनजनको घरघरको बिहानीको सुरुवात रामायणको श्लोकबाट नै हुन्छ । नेपाली भाषा साहित्यमा यो नै पहिलो महाकाव्य थियो । रामायणको उत्तर काण्डको ॅरामगीता’ पनि नेपाली भाषामा भानुभक्तले नै अनुवाद गरेका थिए ।
त्यति बेला तुच्छ मानिने नेपाली भाषामा संस्कृत भाषाको रामायणलाई अनुवाद गर्नु चानचुने कुरो थिएन । यस अर्थमा पनि उनको हिम्मत, साहस र नेपाली भाषा साहित्य प्रतिको प्रेमलाई जति प्रशंसा गरे पनि कमै हुन्छ भन्दा फरक नपर्ला ।
उनले गरेको नेपाली भाषा र संस्कृति प्रतिको भाषिक क्रान्तीले नै आज हामी नेपालमा मात्र नभई विश्व भरि नै छरिएर रहेका नेपालीहरु नेपाली भाषा र साहित्यमा रमाउन पाई रहेको छौं । नेपाली भाषा साहित्यका धरोहर भानुभक्त आचार्य नेपाली भाषिलाई एक सुत्रमा बाध्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाल र नेपाली भाषाको पहिचान दिलाउन सक्ने एकताका प्रति मूर्ति हुन ।
अतः आज उनको २०८औं जन्म जयन्तीका दिन यस्ता बहुप्रतिभाशाली, राष्ट्र कवि, नेपाली भाषा साहित्यका सागरलाई सम्पूणर् नेपालीहरुले सम्मानका साथ स्मरण नगरी रहन सक्दैनौं ।
नेपालगन्ज, बाँके