बाँकेमा प्याब्सनको कार्यालय भवनको निर्माण
Wednesday, July 13th, 2022, 7:48 pm
Kalpristha
बाँकेमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को कार्यालय भवन निर्माण गरिएको छ । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर २० राँझामा प्याब्सन शिक्षा मन्दिरको नाम दिइएको उक्त भवनको बुधबार एक उद्घटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् प्याब्सनका केन्द्रीय अध्यक्ष डीके ढुंगानाले प्याब्सनको भवन उद्घाटन गरेको छन् । कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष ढुंगानाले निजी तथा आवासीय विद्यालयले नेपालको शैक्षिक अवस्थालाई माथि उठाउन ठूलो योगदान दिएको बताए ।
उनले भने, ‘निजी तथा आवासीय विद्यालयले नेपालको शिक्षालाई ठूलो योगदान दिएको छ । सरकारलाई आर्थिक भार कम गराएको छ ।’ तर सरकारले जहिले पनि निजी तथा आवासीय विद्यालयलाई अपनोत्व नगरको ढुंगानाले गुनासो पोखे ।
‘सरकारले हामी जस्ता निजी तथा आवासीय विद्यालयलाई हेर्ने दृष्टिकोण फरक पाइएको छ । शिक्षाको नीतिमा हामीलाई प्राथमिकता राखिएको छैन । शिक्षा तथा निजी क्षेत्रमा अध्ययन गर्ने बालबालिकाका लागि हामीले विभिन्न चरणमा सरकारसँग पहल गरिरहेका छौं,’ ढुंगानाले भने ।
कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष यमबहादुर रावतको सभापतित्वमा सम्पन्न भएको थियो । जसमा प्याब्सन बाँकेका पूर्वअध्यक्ष राजेन्द्र आचार्य, ऋषिकेश जिसी, डा. राजेशकेशर खनाल, जगत तिमिल्सीनालगायतलाई दोसल्ला ओढाएर सम्मान गरियो ।
बाँकेमा पहिलो पटक २०३४ सालमा निजी विद्यालय स्थापना गरेर शिक्षा क्षेत्रमा पुर्याएको योगदानको मुल्यांकन गर्दै नेपालगन्जस्थित एन्जल्स स्कुललाई कदर पत्रसहित सम्मान पनि गरियो ।
कार्यक्रममा बोल्ने वत्ताहरुले निजी तथा आवासीय विद्यालयबाट शिक्षा लिई रहेका विद्यार्थीहरुलाई पनि सरकारले छात्रवृत्ति दिनु पर्ने, प्याब्सनअन्तर्गतका विद्यालयलाई पनि समुदायिक विद्यालय तहको प्राथमिकता दिनु पर्ने बताए ।