आत्मरक्षाको सीप सिकाउँदै सकिएको महिला अभिवृद्धि कार्यक्रम
Thursday, July 14th, 2022, 8:39 pm
Kalpristha
नेपालगन्ज, ३० असार
राष्ट्रपति खेलकुद महिला अभिवृद्धि कार्यक्रम बिहिबार बाँकेमा सम्पन्न भएको छ । तिन दिने अभिवृद्धि कार्यक्रममा बाँकेका विभिन्न विद्यालयका १ सय ५० जना किशोरीहरु सहभागि थिए ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना र बाँके जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन कार्यक्रम भएको थियो ।
कार्यक्रमका सहभागिलाई कोहलपुर नगरपालिका मेयर पुर्णप्रसाद आर्चाय, लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य नरेन्द्र थापा, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाह, जिल्ला समन्वय समिति सदस्य रेवती परियार, सन्त कुमार थारु, नेपालगन्ज उप–महानगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गोरख बहादुर थापा, बाँके जिल्ला एथलेटिक्स संघ अध्यक्ष बिक्रम जंग थापा, बाँके सेल्फ डिफेन्स संघ अध्यक्ष नारायणी वली, बाँके तेक्वान्दो संघ अध्यक्ष प्रकाश लामिछाने, बाँके कराते संघ अध्यक्ष सन्तोष शाह, बाँके जिल्ला कबड्डी संघ अध्यक्ष जर्नादन केसी लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रमको अन्तिम दिन राष्ट्रिय खेलकुद परिषद सदस्य समित्रा चौधरी, अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले कार्यक्रमको अवलोकन गरेका थिए ।
महिलाहरुलाई खेलकुदमा अभिरुची बढाउने उद्देश्य सहित गरिएको तालिममा विभिन्न खेलका प्रशिक्षकहरुले तालिममा सहभागिहरुलाई खेलका सैद्धान्तिक र व्यवहारिक पक्षहरुको बारेमा अभिमुखिकरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका मेयर पुर्ण प्रसाद आर्चायले महिलाहरुलाई लक्षित गरेर कोहलपुरले खेलकुदका कार्यक्रम संचालन गर्ने योजना बनाएको बताए । खेलकुदका महिलाको सहभागितालाई बढाउन बाँके जिल्ला खेलकुद विकास समितिसँग आवश्यक सहकार्य गरेर अगाडी बढने उनले बताए ।
बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाहले खेलकुदमा भएका थुपै्र समस्याहरुलाई समाधान गर्नको लागि आफुले पहल सुरु गरिसकेको बताए । उनले भने,‘खेलकुदमा धेरै कुरा गर्न बाँकी छ । खेलाडीका समस्या थुपै्र छन । हामी सबै मिलेर, सहकार्य गरेर जिल्लाको खेलकुदलाई माथि उठाउने काम गर्नुछ ।’
सेल्फ डिफेन्स संघ अध्यक्ष नारायणी वलीले महिलाहरुलाई आत्मरक्षाका सिप सिकाउने गरिएको यस अभिवृद्धि कार्यक्रम निकै महत्वपुर्ण भएको बताइन ।
अभिमुखिकरण तालिममा सहभागि भएका किशोरीहरुलाई भलिबलका प्रशिक्षक लाल बहादुर मल्ल, फुटबलका रबिन्द्र कुमार श्रेष्ठ, तेक्वान्दोका चन्द्र प्रकाश श्रेष्ठ, करातेका कृष्ण चौधरी, एथलेटिक्सका छविलाल थापामगर, रग्वीका यदु अधिकारी, सेल्फ डिफेन्सको तर्फबाट अदान सिंह थापा र दिक्षा वलीले प्रशिक्षण दिएका थिए ।