बेरुजु शून्यमा दुई गाउँपालिका
Thursday, July 14th, 2022, 8:45 pm
Kalpristha
प्युठान जिल्लाका दुई गाउँपालिका आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु शून्य बनाउने देशभरकै पहिलो बनेका छन् । बुधबार राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको कार्यालयले बुझाएको ५९औँ वार्षिक प्रतिवेदनमा उल्लेखित बेरुजु शून्य बनाउने स्थानीय तहमा प्युठानका मल्लरानी र सरुमारानी गाउँपालिका रहेका छन्।
मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा गाउँपालिकाले ऐन, नियम र कार्यविधिअनुसार गाउँपालिकाले कार्यसम्पादन गरेकाले बेरुजु शून्य भएको बताउँछन् । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा पनि देखिएको बेरुजु सम्परीक्षण मार्फत शून्य बनाइएको उनले बताए ।
प्रक्रियागत रुपमा काम कारवाही भएको, खर्चमा पारदर्शिता, प्रचलित कानुनको पूणर् पालना भएकै कारण बेरुजु शून्य भएको थापाले सुनाए ।
सरुमारानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मी शून्य बेरुजु बनाउनेमा देशभरमै उत्कृष्ट भएपछि आफ्नो पेशागत क्षेत्रमा थप उत्साहित बनाएको बताउँछन् । धेरैजसो बेरुजु उपभोक्ता समितिमार्फत हुने काममा देखिने गरे पनि विगत वर्षदेखि उपभोक्ता समितिलाई काम, कर्तव्य र अधिकारका बारेमा प्रष्टसँग स्थलगत रुपमै पुगेर प्रशिक्षित गराएपछि सुधार भएको उनले बताए ।
बेरुजु शून्य बनाउनेमा अघिल्लो वर्ष प्यूठानकै झिमरुक गाउँपालिका लुम्बिनी प्रदेशमा पहिलो र नेपालकै सातौँ गाउँपालिका भएको थियो । तर, यसवर्ष सरुमारानी र मल्लरानी गाउँपालिका नेपालकै पहिलो गाउँपालिका बनेका हुन् ।
साभार : अन्नपूणर् पोष्ट्