कच्चा तेलको भाउ घट्यो
Thursday, July 14th, 2022, 9:05 pm
Kalpristha
एक महिना अघि प्रतिब्यारेल १ सय २० डलर पुगेको कच्चा तेलको भाउ बिहीबार ९९.३२ डलरमा झरेको छ । करिब ५ महिनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय डलरभन्दा तल झरेको हो ।
फेब्रुअरी अन्तिमदेखि उच्च दरले बढेको कच्चा तेलको भाउ केही दिनयता घट्न थालेको हो । ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल ९९.३२ र डब्लूटीआई कच्चा तेलको भाउ प्रतिब्यारेल ९५.८७ डलरमा झरेको छ ।
मागमा सुस्तता आएसँगै भाउ घट्न थालेको हो । कच्चा तेलको भाउ अझै घट्ने अमेरिकी बहुराष्ट्रिय लगानी बैंक सिटी ग्रुपको एक रिपोर्टले देखाएको छ । सो रिपोर्टले २०२२ को अन्त्यसम्म कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ६५ डलरसम्म आउन सक्ने चेतावनी दिएको छ ।
जसले गर्दा यतिबेला विश्व तेल बजारमा तरंग पैदा गरेको छ ।
यूरोपियन मुलुकहरुले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि फेब्रुअरीदेखि तेलको मूल्य बढेको थियो । कच्चा तेलको मूल्य घट्दा नेपाललाई समेत प्रत्येक्ष लाभ मिल्नेछ ।
नेपाल आयल निगम (एनओसी)ले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट तेल खरिद गर्दै आएको छ ।
आईओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक १५-१५ दिनमा नयाँ मूल्य सूची पठाउँछ ।
त्यसकै आधारमा निगमले नेपालमा मूल्य समायोजन गर्छ । पेट्रोलियम पदार्थको मूल्य बढी हुँदा ढुवानी खर्च समेत बढ्न गई भान्सासमेत महंगिन जान्छ । कच्चा तेलको मूल्य घटेमा महंगीमा समेत नियन्त्रण आउँछ ।