स्कटल्याण्डमाथि नेपालको पहिलो जित
Thursday, July 14th, 2022, 9:20 pm
Kalpristha
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा आयोजक स्कटल्याण्डलाई ५ विकेटले हराउँदै नेपालले सिरिजमा पहिलो जित निकालेको हो ।
स्कटल्याण्डमाथि नेपालको यो ऐतिहासिक जित हो । स्कटल्याण्डविरुद्ध नेपालले पहिलोपटक जित निकालेको हो ।
स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा आसिफ शेखले ७१ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलमा १० चौका र १ छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेलले २७ रन जोड्दा देव खनाल ४, दिपेन्द्र सिंह ऐरी ३ र आरिफ शेख १ रनमा आउट भए । रोहित पौडेल ३४ रनमा अविजित रहदा आदील आलम सुन्य रनमा अविजित रहे ।
स्कटल्याण्डका गाभिन मेनले ३ तथा एड्रिन निल र रिची बेरिङटनले १-१ विकेट लिए ।
नेपालका सोमपाल कामी र आदील आलमले ३-३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।
यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।
स्कटल्याण्डको यो जारी सिरिजमा पहिलो हार हो । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो ।
यस जितसँगै नेपालले १८ खेलमा १७ अंक जोडेको छ । नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।
स्कटल्याण्ड २२ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।