कृति समीक्षा : ‘यात्राका इन्द्रेणी रङ’ अध्ययन गर्दा
Saturday, July 16th, 2022, 1:16 pm
Kalpristha
अरुणबहादुर खत्री “नदी”
यात्राका इन्द्रेणी रङ नामक नियात्रासङ्ग्रह साहित्यकार नियात्राकार प्र्रदीप सापकोटाको २०७७ सालमा प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र रेलसँगै गुडेको मन, आँखाभरि हैदरावाद, सम्झनामा चारमिनार, पतैयामा दुःखी आमा लगायत विभिन्न शीर्षकका चौधवटा नियात्राहरु राखिएका छन् । नियात्राकार सापकोटाले आफूले भ्रमण गरेको स्थानको राजनीतिक तथा भौगोलिक स्थिति, विकास, निर्माण, प्राकृतिक दृष्य, सामाजिक संरचना, व्यक्ति चेतना, संस्कार, स्थानीय संस्कृति, ऐतिहासिक धरोहर आदिको वणर्नसहित आफ्ना भावनाहरु प्रस्तुत गरेका छन् । रेलसँगै गुडेको मन शीर्षकको नियात्रामा यात्राका मनोरम तरङ््गहरु मनमा झङ्कृत भएर बसेका छन् । जहाँ गए पनि त्यहाँँ घुलमिल हुन चाहने मान्छे म भनेर नियात्राकारले लेखेका छन् ।
यात्रा साहित्य विश्व साहित्यमै लोकप्रिय विधाको रुपमा मानिन थालिएको छ । सभ्यता र संस्कृति जीवन र जगत्को अनुभव र अनुभूतिका कारण नियात्राका पाठक बढेर असाहित्यिक वर्गमा पनि प्रभावकारी बन्दै गएको छ । यही कारण अन्य विधामा हात हालेका स्थापित लेखकहरु पनि यस विधाप्रति आकर्षित भइरहेका छन् । आँखाभरि हैदरावाद शीर्षकको नियात्रामा अँध्यारोलाई क्रमशः उज्यालोले निल्दै थियो । झिसमिसे बिहानले उज्यालो हुँदै गएको सङ्केत गर्यो । अलिकति पर सानासाना तर मिलाएर चिटिक्क पारिएका हाउजिङ्हरु देखिए । ठाउँको नाम दुब्बाडा रहेछ भनेर नियात्राकार सापकोटाले लेखेका छन् ।
केवल टावरमा पिलो निचोर्दा शीर्षकभित्र मलाई पिलोले अक्सर दुःख दिइरहन्छ । आज पनि त्यही अवस्था छ । काखीमा हल्का आएजस्तो थियो हिजो भनेर नियात्राकारले लेखेका छन् । सरल र मिठासयुक्त भाषाशैली, घटनाको रोचक प्रस्तुति, लेखनमा इमान्दारिता र राष्ट्रप्रेम उनको नियात्राका विशेषता हुन् । आफ्नो लेखनीमा सरोकारवालाहरुलाई सम्बोधन गरेर उनले धेरै ठाउँमा प्रश्न उठाएका छन् । पतैयामा दुःखी आमा शीर्षकको नियात्रामा वादल जुधेर होला मौसम हल्का शीतल भएसँगै सिमसिमे पानी बर्सन थाल्छ । अनि होटेलतिरे हामी फर्किन थाल्छौ भनेर उनले लेखेका छन् ।
रात पनि जागै बस्ने सहर शीर्षकभित्र सिरसा भन्ने ठाउँ वरिपरि हल्का पहाडि थुम्का र तिनमा हरियाली जङ्गल र चिटिक्कका बुट्यानहरुसित लुकामारी खेल्दै सलल बगेको सडक भेटियो । नियात्राकारलाई लाग्छ, त्यो सडक नभएर लामो यात्रामा निस्किएको नदी हो । आँखाले पढेको हृदयभन्दा मनले भेटेको शब्द बढी प्रभावकारी हुन्छ यात्रामा । प्रस्तुत नियात्राकृति स्रष्टाले देखेको भोगेको यथार्थ पनि हो । प्रस्तुत कृतिमा स्रष्टा सापकोटाले आफूले देखेको, भोगेको र अनुभूति गरेको यथास्थितिलाई प्रस्तुत गरेका छन् । साथै यस सङ्ग्रहभित्रका नियात्राहरुमा जीवनबोध, जीवनको मौलिक परिभाषा र जीवनको कटु सत्यसँग आत्मसात पाइन्छ । वल्र्ड सफारीमा दुख्यो देश शीर्षकको नियात्रा पढ्दा विशाल क्षेत्रफलमा फैलिएको जङ्गलमा दिनभर पर्यटक भुलाउन सक्ने कुराहरुको विकास गरिएको छ ।
आँखाभरि हैदरावादमा हैदरावादको यात्रा गर्दै जाँदा नियात्राकारलाई आफ्नो देश नेपाल पुर्याउँछ । गरे के हुँदैन भन्ने कुराको उदाहरण दिदै हैदरावादको विकासको उदाहरण प्रस्तुत गर्दै संसार घुमेका नेपालका नेताले कुनै कुरा सिक्न नसकेकोमा दुःखी बन्छन् । सोलुखोलामा पौडी खेल्दा शीर्षकको नियात्रामा साथीहरुसँगको सोलुखुम्बूको यात्राको वणर्न गरिएकोे छ । पहाडी जीवन, प्रकृति र त्यहाँको परिवेशको राम्रो चित्रण गरेका छन् । मनभरि हलेसीको याद शीर्षकको नियात्रामा इतिहास मेरो रुचिको विषय । कुनै ठाउँमा पुगेपछि त्यसको इतिहासको बारेमा चासो राख्न मनलाग्नु स्वाभाविकै हो । महाभारत कालमा भीमले यहाँ रहेको ओखलजस्तो आकारको बडेमानको ढुङ्गालाई मुसलले हानेर धान कुटेकाले यो ठाउँको नाम ओखलढुङ्गा भन्ने नाम रहेको किंवदन्दी पाइन्छ भनेर लेखिएको छ ।
आजको समयमा यात्रा बृत्तान्तका लेखहरु निकै देखिन थालेका छन् कतै निबन्धको रुपमा भेटिन्छन् भने कतै घुमन्ते कथाको रुपमा । पाठक आफूले नटेकेको ठाउँ, आफ्नो आँखाले नदेखेको दृष्य लेखकको वणर्नवाट त्यहाँ पुग्न सक्ने र देख्न सक्ने रहेछ । सबैले सबै ठाउँ घुम्ने र देख्ने कुरा पनि सम्भव हुँदैन । त्यसैले यात्रा वृत्तान्त पढ्दा आफैं त्यो ठाउँ पुगेजस्तो लाग्नु स्वाभाविकै हो । यात्राले पाठकलाई त्यहि पुर्याउन सकिने गर्भिलो भावना उमार्दो रहेछ । नेपाली साहित्यको निबन्ध विधामा पर्ने यो यात्रा वृत्तान्त सबै पाठकले पढ्नै पर्छ । यसमा नियात्राकारको आफ्नै अनुभूति स्वाद छ उनको निजी भावना जताततै छरिएको छ । लेखनशैली स्वतन्त्र छ । उनका यात्राहरु रोचक र रसिला छन् । यात्राहरु पेचिला र पुष्टकारी प्रतीत छन् । अन्त्यमा समग्र रुपमा भन्नुपर्दा यस कृतिले नेपाली साहित्यमा महनीय स्थान लिएको छ । यस्तै अन्य कृतिहरु पढ्न पाइरहने अपेक्षा गर्दछु । अन्त्यमा उनका अन्य राम्रा राम्रा नियात्रासङ्ग्रह थपिदै जाओस् भन्न चाहन्छु ।
लेखकः प्रदीप सापकोटा
विधाः नियात्रा
प्रकाशकः शाब्दिक बुक्स, काठमाडौं
प्रकाशनः पहिलो वि.सं. २०७७ पुस
पृष्ठः १५२
मूल्यः ने.रु.२३५।-
काठमाडौं