साक्षर जिल्ला घोषणामा बाँके ६१औं स्थानमा
Saturday, July 16th, 2022, 8:07 pm
Kalpristha
बाँके देशभरीकै ६१औं नम्बरमा साक्षर जिल्लारुपमा शनिबार घोषणा भएको छ । साथै लुम्बिनी प्रदेशको बाँके ११औं साक्षर जिल्ला बनेको हो ।
आर्थिक वर्ष २०७८/२०८९ को अन्तिम दिन असार ३२ गते बाँकेलाई साक्षर जिल्लाको रुपमा धोषणा गरिएको छ । नेपालगन्जको जिल्ला समन्वय समितिको प्रांगणमा जिल्ला साक्षर समन्वय समितिले कार्यक्रमको आयोजना गरेर बाँकेलाई साक्षर जिल्ला घोषित गरिएको हो ।

….
कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जिल्लालाई साक्षर घोषणा गरे । उनले भने, ‘ साक्षर नेपाल अभियान बमोजिम यस जिल्लाका १५–६० वर्ष उमेर समूहका प्रोढ व्यक्तिहरु तोकिएको सक्षमता पूरा गरी ८ वटै स्थानीय तहहरु साक्षर घोषणा भै जिल्लाको साक्षरता ९६.५६ प्रतिशत रहेकोले जिल्ला साक्षरता समन्वय समिति बाँकेको मिति २०७९।३।३१ गतेको निर्णयानुसार यस जिल्लालाई मिति २०७९।०।३२ गतेका दिन साक्षर जिल्ला घोषणा गर्दछौं ।’
यसअघि असार ३० गते अन्तिम पालिका डुडुवा गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरेसँगै बाँकेका सबै पालिका साक्षर पालिका बनेका थिए । जसअनुसार बाँकेलाई साक्षर गाउँपालिका घोषणा गरिएको हो ।

….
जिल्ला समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले यही वर्ष जिल्लालाई साक्षर घोषणा गर्नु भएकाले असारको अन्तिममा बाँकेलाई साक्षर जिल्लाको रुपमा घोषणा गरिएको बताए ।
बाँकेमा पहिलो पटक कोहलपुर नगरपालिकालाई साक्षर पालिका घोषण गरिएको थियो । कोहलपुरलाई २०७६ जेठ ३१ गते ९६.४२ प्रतिशत साक्षारताका साक्षर पालिका घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका इकाई प्रमुख तथा सदस्य सचिव रामसुरेश यादवले बताए ।

….
त्यसपछि खजुरा गाउँपालिकालाई २०७६ असार १४ गते ९६.९९ साक्षरता प्रतिशत, जानकी गाउँपालिकालाई २०७६ असार १८ गते ९८.६७ साक्षरता प्रतिशत, राप्ती सोनारी गाउँपालिकालाई २०७६ असार ३० गते ९५.११ साक्षरता प्रतिशतका साथ साक्षर पालिका घोषणा गरिएको थियो ।
त्यस्तै नरैनापुर गाउँपालिकालाई २०७८ चैत १४ गते ९६.१९ साक्षरता प्रतिशत, बैजनाथ गाउँपालिकालाई २०७८ असोज २२ गते ९७.५ साक्षरता प्रतिशत, नेपालगन्ज उप–महानगरपालिकालाई २०७९ वैशाख ८ गते ९५.३९ साक्षरता प्रतिशत र डुडुवा गाउँपालिकालाई २०७९ असार ३० गते ९६.२५ साक्षरता प्रतिशतका साथ साक्षर पालिकाका रुपमा घोषणा गरिएको हो ।

….
बाँकेमा अब ३.४४ प्रतिशतमात्र निरक्षरको संख्या रहेको छ ।
यसअघि नेपाल सरकारले साक्षर नेपाल वर्ष २०७६ अवधारण पत्र २०७५ पुस १६ गते स्वीकृत गरेर २०७६ भित्र नेपाललाई साक्षर राष्ट्र घोषणा गर्ने लक्ष्य लिएको थियो । उक्त राष्ट्रिय लक्ष्य पूरा गर्न बाँके जिल्लालाई पनि साक्षर जिल्ला घोषणा गर्नेगरी जिल्लाका ८ वटै स्थानीयतहमा साक्षर नेपाल वर्ष २०७६ को अवधारण बमोजिमका क्रियाकलापहरु संचालन गरिएको इकाई प्रमुख यादवले बताए ।

…..
यादवका अनुसार जिल्लालाई साक्षर घोषणा गर्न स्थानीय तहबाट विभिन्न समयमा घरधुरी सर्वेक्षण गर्दा बाँकेमा १५ वर्षदेखी ६० वर्ष उमेका ६९ हजार ६ सय ३० जना निरक्षर रहेको पाइएको थियो । जसलाई वडा तहबाट साक्षर गराउँदै स्थानीय तहलाई साक्षर घोषणा गरियो र अन्तिममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

…..
साक्षरताका लागि १२ सुचक
कुनै पनि स्थानीय तह वा जिल्लालाई साक्षर घोषणा गर्दा विभिन्न १२ वटा सूचकभित्र रहेर साक्षरता घोषणा गरिने इकाई प्रमुख यादवले बताए । जसमा
१. राष्ट्रभाषा वा मातृभाषाका वर्ण, अक्षरको पढाइ र लेखाइ ।
२. नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बीको पढाइ गर्न ।
३. आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ ।
४. मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न ।
५. ० देखि ९ सम्मका अंक अक्षर लेखाइ ।
६. १ देखि १०० सम्म गणना ।
७. लेनदेनका हरहिसाव रखाइ ।
८. सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक संकेत पढाइ र बुझाइ ।
९. सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन ।
१०. घडी हेरेर समय बताउन ।
११. भित्तेपात्रो हेरी तिथि मिति बताउन ।
१२. बैंक भौचर भराइ र चेक खिचाइ ।