प्रदेश विश्वविद्यालयबारे नागरिक चासो बढ्दै
Saturday, July 16th, 2022, 8:19 pm
Kalpristha
खजुरामा स्थापना हुने प्रादेशिक विश्वविद्यालयबारे नागरिक सरोकार बढेको छ । शनिबार खजुरामा सरोकारवाला निकायबीच भएको छलफलमा साझा मुद्दामा एकजुट हुने राजनीतिक सहमति जुटेको हो ।
खजुरामा शनिबार लुम्बिनी प्रदेस विश्व विद्यालय नागरिक सरोकार विषयक छलफल गोष्ठीका सहभागिले प्रदेश सरकारले घोषणा गरेको प्रस्तावित विश्व विद्यालय सञ्चालनको लागि तत्काल आवश्यक पहल गर्न जनप्रतिनिधि र शिक्षाका सरोकारलाई आग्रह गरिएको हो ।
नागरिक सरोकारका तर्फबाट कपिन्द्रराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेस सभा सदस्य आईपी खरेलले प्रदेश विश्व विद्यालय खजुरामा नै बन्ने कुरामा ठोकुवा गर्दै यसको स्थापना र सञ्चालनको वातावरण तयार पार्न आग्रह गरे ।
उनले लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाको लागि भएका प्रयासको बारेमा जानकारी दिदै सबैले अपनत्व र जस लिने गरी सामुहिक भावनामा अघि बढ्न आग्रह गरे ।
खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिले साझा मुद्दामा एक भएर लाग्न आग्रह गर्दै खजुरामा हुने विश्वविद्यालयका लागि सबै सरोकारवाला एक भएर लाग्नु पर्ने बताए ।
कक्षपतिले आफ्नो कार्यकालमा प्रदेश विश्व विद्यालयको लागि आवश्यक जमिन खोजि गरि सुनिश्चितता गरेको भए पनि प्रदेश योजना आयोगबाट चलखेल हुँदा विश्व विद्यालय खजुरामा हुने कि नहुने अनिश्चित बन्दै गएको बताए ।
साझा सवालमा राजनीतिक आस्था थाँती राख्नु पर्ने र स्थापना हुने विश्वविद्यालय अरु योजना जस्तो हुन नहुनेमा विवेकप्रताप मल्लले आफ्नो धारणा राखेपछि सबैले सो कुरामा सहमती गरेका थिए ।
खजुराको क्यान्सर अस्पतालमा भएको कार्यक्रममा शिक्षा क्षेत्रका जानकार विज्ञ लगायतले खजुरामा प्राविधिक विश्वविद्यालयको अधिकतम सम्भावना रहेको बताए । कार्यक्रममा कविन्द्र भट्टराईले कार्यपत्र प्रस्तुत गर्दा प्रदेश सांसद आइपी खरेल, कृष्ण केसी नमुना, खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’, शिक्षा विद जनार्दन आचार्य लगायत नागरिक स्तरका सरोकारवालाले आफ्नो धारणा राख्दै विश्वविद्यालयको स्थापनामा सबै आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए ।