अस्पतालमा टिकट र बेड निःशुल्क
Sunday, July 17th, 2022, 10:54 am
Kalpristha
साउन १ गतेदेखि लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आकस्मिक र बहिरंग सेवाको टिकट तथा श्यावापत शुल्क नलाग्ने भएको छ ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी र आकस्मिक सेवाको टिकट तथा बेडमा शुल्क नलिने घोषणा गरेको थियो ।
सोही घोषणा साउन १ गतेदेखि कार्यान्वयन हुन लागेको हो । ओपिडी र बेड निःशुल्क गर्न प्रदेश सरकारले बजेटमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
‘टिकट शुल्क नलाग्ने भएपनि बिरामीहरुले टिकट काउन्टरबाट टिकट भने लिनुपर्छ’, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले भने ।
यस्तै साउन १ गतेदेखि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीहरुका लागि अब रगत पनि निःशुल्क हुने भएको छ । रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सरकारले रगत निःशुल्क गर्नका लागि ३ करोड रुपैयाँ बजेट छुट्याएको छ । अस्पतालका तर्फबाट मेडिकल सुपेरिटेण्डेन्ट डा. इन्द्र ढकाल र रक्तसञ्चार केन्द्रका तर्फबाट लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अस्पतालमा आएका बिरामीले चिकित्सकहरुको सिफारिस लिएर रक्त सञ्चार सेवा केन्द्रमा गएपछि निःशुल्क रगत पाउने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. ढकालले बताए ।
यसअघि रक्तसञ्चार केन्द्रले एक युनिट रगतको आठ सय रुपैयाँ लिँदै आएको थियो । लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुने गरेको महासचिव पंगेनीले बताए ।