ठेकेदारको चरम लापरबाही, टेर्दैनन् सरकारलाई
Sunday, July 17th, 2022, 10:57 am
Kalpristha
विक्रम बुढाक्षेत्री/लिलाधर वली
बाँकेको नेपालगन्जस्थित परसपुर-गौघाट रोडअन्तर्गत खजुरा गाउँपालिका-२, सी गाउँमा निर्माणाधीन पुलको सम्झौता सकिँदासम्म ४० प्रतिशतमात्र काम सम्पन्न भएको छ । असार २५ गतेसम्म सम्झौता अवधि रहेको उक्त पुलका कारण खजुरा गाउँपालिका वडा नम्बर १ र २ का वडावासीले सास्ती पाउने पक्का रहेको देखिन्छ ।
उक्त पुल निर्माणमा चरम लापरबाही भएको प्रष्ट हुन्छ । वैकल्पिक पुल निर्माण नगरी उक्त पुल निर्माण थालिएको थियो । निकासा नहुँने भन्दै भएको पुराना पुल पनि भत्काएर नयाँ पुल निर्माण गरिएको स्थानीय बताउँछन् ।
प्रदेश सरकारको बजेटमा निर्माण भई रहेको उक्त पुल गत २०७७ फागुन १९ गते सडक पूर्वाधार विकास कार्यालय, नेपालगन्जसँग गल्भा/सिद्धार्थ दर्शन जेभिले २०७९ असार २५ गतेसम्म निर्माण समपन्न गर्नेगरी सम्झौता गरेको थियो । तर उक्त सम्झौता अनुसार गल्भा/सिद्धार्थले काम गरेको देखिएको छैन । उक्त पुलको लागत ५ करोड ८५ लाख ७२ हजार ५ सय ३३ रुपैयाँ रहेको छ । जसमा २० प्रतिशत रकम निर्माण कम्पनीले लगिसकेको छ ।
उसोत सडक पूर्वाधार कार्यालयले निर्माण कम्पनी गल्भालाई ताकेता नगरेको पनि होइन । सडक पूर्वाधारले १ वर्षको अवधिमा चार पटकसम्म गल्भालाई चिठी पठाएर ताकेता गरेको सडक पूर्वाधार विकास कार्यालय नेपालगन्जका कार्यालय प्रमुख सरतकुमार अधिकारीले बताए ।
सडकले २०७८ माघ ९ गते बैंकलाई उक्त निर्माण कम्पनीको बैंक ग्यारेन्टी थुत्न चिठी पठाएको थियो । त्यसपछि माघ २३ गते समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता पत्र निर्माण कम्पनीले दिएको थियो ।
त्यस्तै समयमै काम गरेको भए घोराहीको सहिदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्म र नेपाल बैंकदेखि सहिद गेटसम्म नालासहित सडक पिच गर्ने काम असारअघि सकिनुपर्ने हो । तर नालासहित सडक कालोपत्रे गर्ने जिम्मा पाएको वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले चरम लापरबाही नै देखायो ।
१ करोड १५ लाख ३४ हजार ९ सय २४ रुपैयाँमा यही असार मसान्तभित्र सक्ने गरी २०७७ माघ ८ गते सम्झौता गरिए पनि अहिलेसम्म नाला निर्माणको कामसमेत सकिएको छैन । समयमै काम गर्नका लागि ठेकेदारलाई कार्यालय बोलाएर सचेत गराउनका साथै पत्र काटेर उपमहानगरपालिकाले पटक-पटक ताकेता गरे पनि ठेकेदारले काम गरेको जस्तो बहाना गर्ने तर काम भने नगर्ने प्रवृत्तिका कारण सर्वसाधारण जनताले दुःख पाएका छन् ।
त्यसैगरी घोराही उपमहानगरपालिका-४ मा १५ शैयाको हस्पिटल भवन निर्माण गर्न २०७८ असार २८ गते राजेन्द्र निर्माण सेवाले सम्झौता गरे पनि अझै काम सुरु हुन सकेको छैन । संघीय सरकारको १० करोड ६६ लाख ४ हजार ९ सय १ रुपैयाँमा २०७९ असार मसान्तभित्र हस्पिटल बनाउने सम्झौता भएको थियो । त्यही अनुसार उक्त अस्पतालको लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्याससमेत गरेका थिए । तर उक्त अस्पतालको शिलन्यासबाहेक अरु काम नै हुन सकेको छैन् ।
अर्को उदाहरण हो, घोराही चोकदेखि गुलरिया पार्कसम्म सडक पिच गर्न पुष्पाञ्जलि/पिएस जेभीले २०७८ फागुन ४ गते २ करोड ३१ लाख ५५ हजार ३ सय ६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार काम गरेको भए अहिले उक्त सडक पिच भएको हुनुपर्ने भए पनि ठेकेदारको चरम लापरबाहीका कारण अहिलेसम्म ग्राभेल गर्ने काम मात्रै गरेको छ । पिचको काम यस आर्थिक बर्षमा सक्ने कुनै पनि छाँटकाँट छैन ।
ठेकेदारको चरण लापरबाहीका कारण घोराहीमा एक दर्जन विकास निर्माणका आयोजनाहरु अघि बढ्न सकेका छैनन् ।
यी उदाहरणमात्रै हुन् ।
ठेकेदारको चरण लापरबाहीका कारण घोराहीमा एक दर्जन विकास निर्माणका आयोजनाहरु अघि बढ्न सकेका छैनन् । सहरी विकास तथा पूर्वाधार निर्माण शीर्षकमा पालिकाले छुट्याएको बजेटबाट बजार क्षेत्रमा नाला, सडक कालोपत्रेदेखि ग्रामीण क्षेत्रका सडक कालोपत्रे गर्नका लागि सम्झौता अनुसार समयमा काम नगर्दा अलपत्रजस्तै छन् ।
त्यीमध्येका योजनाहरु हुन, वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले ठेक्का लिएको घोराही-८ सौरी थारुगाउँ बाटो पिच निरन्तरता तथा वडा नंं १० को पुरानो वडा कार्यालय हुँदै नारायणपुर थारुगाउँ हुँदै बनगाउँ जोड्ने बाटो निरन्तरता, मानबहादुर मिलदेखि शंकर गौतमको घरसम्मको अधुरो सडक पिच र दक्षिण पानीटंकी चोकसम्म सडक पिच, घोराही चोकदेखि गुलरिया पार्कसम्म सडक पिच गर्ने गरी सम्झौता गरेको पुष्पाञ्जलि/पिएस जेभी, खिरटियादेखि ६ नं. वडा कार्यालयसम्म सडक पिच गर्न बराहक्षेत्र हरितारा कन्स्ट्रक्सन जेभी, घोराही-१७ लख्वारे कुलोदेखि धर्नासम्म सडक बिस्तार तथा थारु कल्याणकारिणी भवनदेखि गैरागाउँ चोकसम्म पिच गर्नका लागि सोहन आभा जेभीरहेका छन् ।
त्यसैगरी वडा नं. ९ को खैराकोठरी सडक पिच गर्न रोयल बिल्डर्स प्रालि, घोराही वडा नंं. १० मा स्वास्थ्य संस्था भवन निर्माणका लागि रोयल बिल्डर्स प्रालि, घोराही-७ कनरियादेखि वडा नं. ५ को दलजीतपुरसम्म, घोराही-१७ को भैसाही चोकदेखि गैरागाउँ हुँदै सर्रा जोड्ने सडक र कटुवा खोला शंखेपीपलदेखि वडा नं.१८ को वडा कार्यालय हुँदै अम्बिकेश्वरी मन्दिर जाने सडक निर्माणसँगै पिच गर्नका लागि आरडी/हाम्रो जेभीले सम्झौता अनुसार निर्माणको काम नगर्दा काम अघि बढ्न सकेका छैनन् ।
घोराही उप-महानगरपालिकाले समयमै काम गराउनका लागि पटक-पटक ताकेता गरेपनि ठेकेदार सम्पर्कमा नआएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले बताए । प्रमुख प्रशासकीय अधिकृत केसीले ठेक्का लगाइएका ९ वटा योजनाहरु असारमा सक्नुपर्ने भए पनि अहिलेसम्म कतिपयको कामै सुरु हुन नसकेको बताए ।
अर्कोतिर पालिकाको अपेक्षाअनुसार प्रगति समेत देखिन सकेको छैन । सडक निर्माणका लागि नाला अलपत्र बनाउनेदेखि सडकभरी गिट्टी फिजाउँदा आवागमनमा समेत असर पुगेको स्थानीयको गुनासो छ ।