पानी नपर्दा खेत बाँझै, सुक्न थाल्यो रोपेको धान
Sunday, July 17th, 2022, 9:17 pm
Kalpristha
विगतका वर्षजस्तै समयमा पानी परेको भए अहिलेसम्म जिल्लामा धान रोपेर सकिन्थ्यो, केही ठाउँमा बाँकी रहन्थ्यो होला तर यस वर्ष पानी राम्ररी नपर्दा सिंचाइ हुने केही क्षेत्र बाहेक अन्य ठाउँमा किसानले अझै धान रोप्न पाएका छैनन् ।
धान रोप्ने समय भइसक्दा पनि पानी नपरेपछि कतिपय ठाउँमा व्याड सुक्न थालेको छ भने केही ठाउँमा रोपेको धान जाग्नुपर्नेमा सुक्न थालेको छ । धानखेतीका लागि रासायनिक मल नपाएका किसानहरू रोपाइका लागि पानी समेत नहुँदा चिन्तामा परेका छन् । असार सकिँदा समेत खेतीका लागि राम्रोसँग बर्खे पानी नपर्दा कुलामा समेत पानी नआएपछि रोपाइका लागि राखेको व्याड नै सुक्न थालेको घोराही–१६ निवासी किसान सरिता चौधरीले बताइन । कुलोमा पानी नआउँदा रोप्नका लागि राखेको व्याड सुक्न थालेको बताइन् ।
‘रोपाइका लागि राखेको बिउ महिना दिन बढी भइसक्यो, अहिले त पानी नपर्दा व्याड नै सुक्न थालिसकेको छ’, किसान चौधरीले भनिन्, ‘पहिले राखेको व्याड सुक्न थालेपछि फेरि नयाँ व्याड राखेका छौँ ।’ गाउँमा वर्षे खेती गर्न आवश्यक पर्ने सिंचाइका लागि खोलाको पानी कुलोबाट खेतसम्म ल्याउने गरिन्छ तर यसवर्ष खोलाकै मुहान सानो भएकाले कुलामा समेत पानी नभएको उनले बताइन ।
साउन लाग्दासमेत पानीको अभाव भएपछि सिंचाइको सुविधा नहुने गाउँका किसानहरु चिन्तित परेका छन् ।
‘धानको बिउ अब छिप्पियो, २०–२५ दिनमा बिउ रोपिसक्नुपर्ने हो तर बिउ राखेको ३० दिन नाघिसक्यो’, पश्चिम दाङको शान्तिनगर गाउँपालिका–१ निवासी किसान हरि घर्ती मगरले भने,‘ठूलो पानी नपर्दा कुलोमा पानी छैन, खेत अझै बाँझै छ ।’ घर्तीले खेतसम्म सिँचाइ कुलो पुगेको भएपनि मुहानमै पानी नभएपछि कुलामा पानी नआएको बताए । अघिल्लो बर्ष समयमै पानी परेकाले लगभग धान रोपेर सकिएको भन्दै यसबर्ष पानी नपरेपछि अहिलेसम्म खेत बाझै रहेको बताए ।
किसान चौधरी र घर्तीमगर मात्रै होइन वर्षे खेतीका लागि राम्रो पानी नपर्दा जिल्लाका धेरै किसानले तयार भएको व्याड रोप्न पाएका छैनन् । सिंचाइको व्यवस्था भएको ठाउँमा किसानले धान रोपे पनि जिल्लाका अधिकांश ठाउँका किसानले असार सकिँदासम्म पनि धान रोप्न पाएका छैनन् ।
५५ प्रतिशत धान रोपाई
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिलेसम्म ५५ प्रतिशत रोपाई भएको बताएको छ । सिंचाइको व्यवस्था भएका ठाउँहरुमा असार महिनाभित्र ५५ प्रतिशित जमिनमा रोपाई भएको केन्द्रले जनाएको छ ।
देउखुरी क्षेत्र र दाङ उपत्यकाको सिँचाइ सुविधा भएको क्षेत्रमा करिव ४५ प्रतिशत खेतमा रोपाई भएको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार सिंचाइको सुविधा भएको देउखुरी उपत्यकासँगै डिपबोरिङको सुविधा भएका दाङ उपत्यकाभित्रका केही ठाउँमा रोपाइँ भएपनि अधिकांश ठाउँमा रोपाइ हुन सकेको छैन ।
देउखुरी उपत्यकामा लमही नगरपालिकासहित राप्ती, गढवा, राजपुर गाउँपालिकामा भने अधिकांश ठाउँमा रोपाइ सकिएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिए । रोप्नका लागि धानको बिउ तयार भएपनि पानीको अभावले धान रोप्न नसकेको लामिछानेले बताए । घोराही र तुलसीपुर उपहानगरपालिकासहित बबई, शान्तिनगर, दंगीशरण र बंगलाचुली गाउँपालिकामा अधिकांश खेतहरूमा बाँझै रहेका छन् । गत वर्षको तुलनामा ३० प्रतिशत कमी भएको केन्द्रका कृषि अर्थविज्ञ छामिछानेले बताए । गत आर्थिक वर्षमा जिल्लामा असारसम्म ८५ प्रतिशत रोपाइ भएको थियो ।