अनुमतिका कारण पहाडी क्षेत्रको हवाई सेवा प्रभावित
Sunday, July 17th, 2022, 9:19 pm
Kalpristha
समयमा अनुमति नलिएका कारण नेपालगन्ज विमानस्थलबाट पहाडी जिल्लाको लागि उडान भर्ने कुनै पनि विमानले आइतबार उडन सकेनन् । यसअघि नेपालगन्ज विमान स्थलस्थित नागरिक उड्डयन कार्यालयबाट उडान अनुमति लिन पाउने व्यवस्था थियो । तर एक महिना अघि नागरिक उड्डयन कार्यालयले राजधानी काठमाडौं केन्द्रीय कार्यालयबाटै सबैलाई उडान अनुमति लिन नयाँ नियम बनाएको थियो ।
कार्यालयले जारी गरेको सूचना अनुसार साउन १ देखि काठमाडौंबाट उडान अनुमति लिनुपर्ने थियो । तर समयमा अनुमति नलिएका कारण तारा एयर, समिट र सीता एयरका विमानले आइतबार उडान भर्न सकेनन् । सम्बत तीन दिन पछि उडान अनुमति पाउन सक्नेछन । सीता एयरका नेपालगन्ज स्थित शाखा प्रमुख राजिव शर्माका अनुसार सोमबार उडान अनुमतिको लागि निवेदन दिएपछि मंगलबार देखी अनुमति पाउने सम्भावना छ ।
सीता एयरका नेपालगन्ज प्रमुख शर्माका अनुसार शुक्रबार असार ३१ गते क्लोजिङ कारण समयमै कार्यालय बन्द भएको थियो । असार ३२ गते शनिबार परेका कारण निवेदन दिन मिल्ने थिएन । आइतबार निवेदन दिन ढिलाई भएका कारण सोमबार अनुमति माग्दा मंगलबारदेखी मात्र पाउने सम्भावना रहेको छ ।
उडान अनुमति लिनको लागि एक दिन अघि निवेदन दिनु पर्ने हुन्छ । त्यसपछि नागरिक उडडयन कार्यालयले आवश्यक अनुसन्धान गरेर उडान तालिक सम्बन्धित एयरलायन्सलाई दिने गर्छ ।
नागरिक उड्डयन कार्यालय नेपालगन्ज कार्यालयका प्रमुख सुवास झाले समयमै उडान अनुमति नलिएका कारण केहि एयरलायन्सले आइतबार उडान भर्न नपाएको बताए । उनले भने, ‘प्राय पहाडी जिल्लाको आज तालिका थिएन । जसका कारण उडान हुन सकेन । पहिले हामीले नेपालगन्जबाटैं यहाँबाट उडान भर्ने विमानहरुलाई तालिका दिने गरेको थियौं । अब काठमाडौंबाट दिने गरेको छ । एयरलायन्सहरुले समयमै तालिकाको लागि निवेदन नदिएका कारण समस्या भएको हो ।’