भारतबाट घटेर आयो पेट्रोलको मूल्य
Sunday, July 17th, 2022, 9:26 pm
Kalpristha
इन्डियन आयल कर्पाेरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ९१५ (लिटर) कच्चा तेलको मूल्य १०१ डलरमा कारोबार भइरहेको छ । गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रतिब्यारेल १२३ डलरभन्दा धेरै थियो । त्यो बेलाको भाउभन्दा अहिले करिब २२ डलर कम भइसकेको छ ।
यसैअनुसार आइओसीले शनिबार नेपाललाई नयाँ मूल्य पठाएको छ । नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको छ ।
भारतबाट मूल्य घटेर आए पनि नेपाली बजारमा घटाउनेबारे कुनै छलफल नभएको निगमले जनाएको छ । निगमको घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको निगमले जनायो ।
निगमका अनुसार हाल निगमले आइओसीलाई ३० अर्ब रूपैयाँ तिर्न बाँकी छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले निगमलाई सात अर्ब रूपैयाँ ऋण दिने निर्णय गरेको छ । यो सँगै सरकारले केही समयअघि पेट्रोलियम पदार्थमा हटाएको पूर्वाधार करबापतको ५९ करोड रूपैयाँ पनि निगमले फिर्ता पाएको छ ।