नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित
Sunday, July 17th, 2022, 9:46 pm
Kalpristha
आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पराजित भएको छ । स्कटल्याण्डको ताइतवड क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय २९ रनको लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डको जितमा कलुम म्याकलेओडले ६४ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै केली कोएट्जरले अविजित ४४ रन जोड्दा क्रिस्टोफरले १० र कप्तान रिची बेरिङटनले अविजित ४ रन जोडे ।
नेपालका सोमपाल कामी र कप्तान सन्दीप लामिछानेले १र१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा अलआउट हुँदै १ सय २८ रन बनाएको थियो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए । विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौडेलले समान १०र१० रन बनाए ।
ओपनर कुशल भुर्तेल ३ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७ रन बनाए । आरिफ शेख सुन्य रन आउट भए । सन्दीप लामिछाने २२ रनमा आउट हुँदा किशोर महतो सुन्य रनमा अविजित रहे ।
सकटल्याण्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । गाभिन मेनले २ विकेट लिए ।
यस हारसँगै नेपालले सिरिजको ४ खेलमा मात्र एक खेलमा जित निकाल्न सफल भएको छ । नेपालले यस अघिको भेटमा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो । तर, नेपाल नामिबियासँग दुबै खेलमा पराजित भएको थियो ।
स्कटल्याण्ड नेपालविरुद्ध पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ ।
नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ । नेपालले २० खेलमा १७ अंक जोडेको छ । स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ । स्कटल्याण्डले २४ खेलमा ३४ अंक जोडेको छ ।