नेपालगन्ज भन्सारको लक्ष्य पूरा भएन
Tuesday, July 19th, 2022, 8:15 pm
Kalpristha
नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/०७९ मा लिएको राजश्व असुली लक्ष्य पूरा गर्न सकेन । भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यको ८८.५१ प्रतिशत मात्रै राजश्व असुली गरेको हो ।
नेपालगन्ज भन्सार कार्यालयका अधिकृत नवकुल शर्मा सरकारले बैङ्किग कारोबारमा कडाई तथा सरकारले विभिन्न मालसामानको आयातमा रोक लगाएका कारण राजश्व असुली लक्ष्य पूरा नभएको बताउँछन् ।
‘गत आर्थिक बर्षमा अघिल्लो बर्ष भन्दा राजश्व असुली बढी संकलन भएको छ । लक्ष्य बढी भएकाले लक्ष्यअनुसार भने हामी पुग्न सकेनौं’, उनले भने ।
कार्यालयका भन्सार अधिकृत नवकुल शर्माका अनुसार आर्थिक वर्ष २०७८/७०९ मा २५ अर्ब २१ करोड २६ लाख ६२ हजार राजश्व असुली गर्ने लक्ष्य नेपालगन्ज भन्सारको रहेको थियो । जसमा भन्सार कार्यालयले २२ अर्ब ३१ करोड २६ लाख अर्थात ८८.५ प्रतिशत मात्र असुली गरेको हो ।
यो असुली अघिल्लो आर्थिक वर्ष भन्दा १ अर्ब ८ करोड ७९ लाखले बढी हो । तर पनि गत आर्थिक वर्षको लक्ष्यभन्दा २ अर्ब ९० करोडले घटी भएको शर्माले बताए ।
उसोत भन्सार कार्यालयको प्रत्येक महिनाको राजश्व असुली लक्ष्य हेर्ने हो भने दुई महिनामात्रै लक्ष्यभन्दा बढी राजश्व असुली भएको छ । नेपालगन्ज राजश्व कार्यालयले २०७८ साउन महिनामा १३१.४८ र असोज महिनामा १०१.३० प्रतिशत लक्ष्य हासिल गरेको छ ।
त्यस्तै भदौ महिनामा ९३.६८, कात्तिक महिनामा ९०.६३, मंसिर महिनामा ९६.९८, पुस महिनामा ८४.०८, माघ महिनामा ७७.३०, फागुन महिनामा ८९.७४, चैत महिनामा ७९.१६, वैशाख महिनामा ७६.७६, जेठ महिनामा ७७.५४ र असार महिनामा ७८.१० प्रतिशत राजश्व असुली भएको छ ।