एक वर्षमा १ हजार बढी सम्बन्ध विच्छेदका मुद्दा
Tuesday, July 19th, 2022, 8:36 pm
Kalpristha
दाङमा जिल्ला अदालतमा परेका मुद्दामध्ये अधिकांश सम्बन्ध विच्छेदका मुद्दा रहेका छन् । भर्खरै सकिएको आर्थिक वर्षमा जिल्ला अदालतमा परेका मुद्दाहरु मध्ये सम्बन्ध विच्छेदका मुद्दाहरु बढी छन् ।
अदालतमा एक वर्षमा १ हजार ३८ वटा मुद्दा सम्बन्ध विच्छेदका परेको जिल्ला अदालतका श्रेष्तेदार हिरण्यप्रसाद भण्डारीले बताए ।
उनका अनुसार गत वर्षको जिम्मेवारी सरी आएका ३ सय ४१ गरी १ हजार ३ सय ७९ सम्बन्ध विच्छेदका मुद्दाहरु रहेकोमा १ हजार ३१ वटा मुद्दा फच्र्यौट भएका छन् । ३ सय ४८ वटा मुद्दा बाँकी रहेका छन् । सम्बन्ध विच्छेदमा मुद्दाहरु बढ्दै गएको जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले बताए । बैदेशिक रोजगारी, गरिबी तथा अशिक्षाजस्ता कारणले सम्बन्ध विच्छेदका मुद्दा बढी परेको पाइएको उनले बताए । सम्बन्ध विच्छेदका मुद्दा बढ्नु राम्रो नभएको न्यायाधीश थापाको भनाइ छ ।
अदालतमा बहुविवाह सम्बन्धी असार मसान्तसम्म ४३ वटा मुद्दा परेका थिए । अघिल्लो वर्षका ३१ वटा जिम्मेवारी सरेर आएका गरी ७४ मुद्दाहरु रहेकोमा ४१ वटा फैसला भइसकेका छन् भने ३३ वटा बाँकी छन् ।
बालविवाह सम्बन्धी अघिल्लो वर्षको जिम्मेवारी गरी आएका ५ वटा मुद्दाहरु फच्र्यौट भएका छन् । मानव बेचविखन तथा ओसार-पोसारसम्बन्धी अघिल्लो वर्षको जिम्मेवारी सरी आएका २ वटा र भर्खरै सकिएको वर्षमा ४ वटा गरी ६ वटा मुद्दाहरु रहेकोमा ३ वटा फच्र्यौट भएका छन् भने ३ वटा बाँकी रहेका छन् ।
जवर्जस्ती करणी जिम्मेवारी सरी आएको ८५ वटा र भर्खरै सकिएको आर्थिक वर्षमा १ सय २९ वटा मुद्दा गरी २ सय १४ वटा मुद्दा परेकोमा १ सय ४२ वटा फच्र्यौट भएका छन् भने ७२ वटा बाँकी रहेका छन् ।
ज्यानसम्बन्धी जिम्मेवारी सरी आएका ८० वटा र भर्खरै सकिएको आर्थिक वर्षमा १ सय ४ वटा गरी १ सय ८४ वटा मुद्दाहरुमध्ये ९३ वटा फच्र्यौट भएका छन् भने ९१ वटा बाँकी छन् ।
लागू औषधसम्बन्धी जिम्मेवारी सरी आएका ३५ वटा भर्खरै सकिएको आर्थिक वर्षमा ६९ वटा गरी १ सय ४ मुद्दाहरुमध्ये ५७ वटा फच्र्यौट भएका छन् भने ४७ वटा बाँकी रहेका छन् ।
सवारी ज्यान अंगभंग सम्वन्धी जिम्मेवारी सरी आएको २७ वटा नयाँ ७० वटा गरी ९७ वटा मुद्दाहरुमध्ये ६४ वटा फच्र्यौट भएका छन् भने ३३ वटा बाँकी रहेका छन् ।
अंशसम्बन्धी जिम्मेवारी सरी आएका २ सय २३ वटा नयाँ २ सय ५८ वटा गरी ४ सय ८१ वटा मुद्दाहरुमध्ये २ सय ६२ वटा फच्र्यौट भएका छन् भने २ सय १९ वटा बाँकी रहेका छन् ।
जग्गासम्बन्धी विवादका जिम्मेवारी सरी आएका ४८ वटा नयाँ ५१ वटा गरी ९९ वटा मुद्दाहरुमध्ये ३१ वटा फच्र्यौट भएका छन् भने ६८ वटा बाँकी रहेका छन् ।
अदालतले १ वर्षमा २ हजार ८ सय ५४ वटा मुद्दाहरु फच्र्यौट गरेको छ । अदालतमा ४ हजार ७ सय ९९ मुद्दाहरु रहेकोमा २ हजार ८ सय ५४ वटा फच्र्यौट गरिएको छ भने १ हजार ९ सय ४५ वटा बाँकी छन् ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले नागरिकहरुलाई कानुनसम्बन्धी सचेतना जगाउन सञ्चार क्षेत्रले सहयोग गर्ने बताए । सञ्चारकर्मीहरुलाई अदालतीय शब्दहरुका बारेमा जानकारी गराउँदा रिपोर्टिङमा सहज हुने समेत उनको भनाइ छ ।